धनगढी : कृषि ज्ञान केन्द्र डडेल्धुराको निमित्त हाकिमको जिम्मेवारी खेमराज पनेरुले पाएका छन्।
सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनेरुलाई निमित्त हाकिमको जिम्मेवारी दिएको हो।
स्रोतका अनुसार पनेरु राजनीतिक पावरले ज्ञान केन्द्र प्रमुख बनेका हुन्। उनी छैठौं तहका कर्मचारी हुन्।
उसो त ज्ञान केन्द्रमा नवाैं तहको कार्यालय प्रमुख रहने व्यवस्था छ। तर कृषि मन्त्रालयले कर्मचारीलाई मन्त्रालयमै थन्काएर जुनियर अधिकृतलाई जिल्लामा निमित्त हाकिम बनाइदिएको हो। यसअघि डडेल्धुरामा पनि आठौं तहका रामचन्द्र भट्टले निमित्तको रुपमा काम गरेका थिए।
भट्टको सरुवा पश्चात् नयाँ कार्यालय प्रमुख नआएपछि सिनियर कर्मचारीका रूपमा तारीसिंह ठकुराठीले निमित्तको जिम्मेवारी पाउनु पर्ने हो। ठकुराठी र पनेरु छैठौं तहका कर्मचारी हुन्। र, ठकुराठी सिनियर हुन्।
तर, ठकुराठीलाई जिम्मेवारी नदिएर मन्त्रालयले पनेरुलाई दिएको हो।
´सुरुमा पनेरु र आफू एकै पोष्टमा भएर ठकुराठीले निमित्तको जिम्मेवारी लिन चाहानु भएन्, स्रोतले भन्यो, ´आफूहरू भन्दा सिनियर कर्मचारी आउनु पर्छ भन्ने उनको माग थियो। तर, पावर लगाएर पनेरुले आफै बन्न खोजेपछि ठकुराठीले पनि इच्छा देखाएका थिए।`
पनेरु ज्ञान केन्द्रको हाकिम बन्नका दाैडधुपमा रहेका थिए। उनी गत सोमबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर साहसँग उग्रतारा मन्दिर समेत पुगेका थिए। जहाँ सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्का र अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशी समेत साथमा थिए।
तर, यता निमित्त हाकिम पनेरुले भने कानुनी रुपमै ठकुराठीसहितको सहमतिमै आफूले जिम्मेवारी पाएको बताए। उनले आफू जुनियर भएपनी ठकुराठीसहितको स्टाफ मिटिङबाट हाकिम बनेको बताए।
यस्तै कृषि मन्त्रालय सुदूरपश्चिमका सचिव डा. मदन धामीले पनि डडेल्धुरामा विवाद भएपनी कर्मचारीकै समस्याका कारण जुनियरलाई हाकिम बनाइएको बताए।