काठमाडौं – ल्याटिन अमेरिकी मुलुक पेरु सरकारले नाबालिगलाई बलात्कार गर्नेलाई केमिल कास्ट्रेसन अर्थात् यौन हर्मोन उत्पादन रोक्न रसायन वा औषधिको प्रयोगलाई अनुमति दिने विधेयक पेस गर्ने भएको छ । मन्त्रीपरिषद् अध्यक्षको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पेरुका न्याय तथा मानव अधिकार मन्त्री फेलिक्स चेरोले यसबारे जानकारी दिएका हुन् ।
तीन वर्षीया बालिकाको बलात्कारपछि देशव्यापी आक्रोश बढिरहेका बेला सरकारले कडा कानुन ल्याउन लागेको हो । ‘यो उपाय बलात्कार गर्नेहरूका लागि थप सजाय हुने छ ।’ न्यायमन्त्री चेरोलाई उद्धृत गर्दै पेरुको राजधानी लिमाबाट प्रकाशित हुने एण्डिना पेरुले जनाएको छ ।
नाबालिगहरूलाई बलात्कार गर्नेहरूले जेल सजाय भोग्ने र सजायको अन्त्यमा दोषीलाई नपुंशक बनाइने उनले बताए । ३ वर्षीया बालिकाको बलात्कारको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ परेपछि सरकारले बलात्कारीविरुद्ध कठोर कानुन ल्याउन लागेको हो ।
पीडित बालिकाको परीक्षणपछि शल्यक्रिया गरिएको थियो । सामाजिक रूपले रूढिवादी र विद्यालयका पूर्वशिक्षकसमेत रहेका राष्ट्रपति पेड्रो कास्टिलोले विद्येयकको समर्थन गरेका छन् । बालिका बलात्कार गर्नेलाई उदाहरणीय ढंगले सजाय दिनु पर्ने उनले बताएका छन् । ‘हामीलाई आशा छ कि संसदले यो विद्येयक अनुमोदन गर्ने छ’ कास्टिलोले यसै साता भनेका थिए ।
सरकारले ल्याएको विधेयक बिहीबार कांग्रेसमा पेश गरिने पेरुभियन न्यायमन्त्रालयलाई उद्धृत गर्दै एण्डिना पेरुले जनाएको छ ।