धनगढीः नेपाल विद्युत प्राधिकरणले समयमै विद्युत महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ। पटक–पटक ताकेता गर्दा पनि बक्यौता नतिरेपछि लाइन काटिएको प्राधिकरणले जानकारी दिएको हो।
प्राधिकरणले केही समययता विद्युत महसुल बक्यौता असुलीलाई देशभर नै अभियानको रुपमा चलाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई झन् सशक्त बनाउने जानकारी दिए।
असुलउपर गर्नुपर्ने विद्युत महसुल बक्यौता वृद्धि हुदैँ गएपछि देशभर रहेका प्राधिकरणका वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काटिरहेको छ।
ग्राहकले ६० दिनभन्दा धेरै समय बक्यौता नतिरेपछि लाइन काटेर महसुल असुलउपर गर्ने रणनीति लिइएको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए। उनले तिहारपछि लाइन काट्ने कामलाई अझै तीव्रताका साथ अघि बढाइने भएकाले समयमै महसुल तिर्न सचेत गराएका छन्।
विद्युत लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको प्राधिकरणले जनाएको छ।