-महादेवी बर्मा
(महादेवी बर्मा, हिन्दी साहित्यकी प्रख्यात कवियत्री, लेखिका र साहित्यकार हुन् । उनका कवितामा छायावादको प्रभाव परेकोले उनलाई छायावादी कविहरू मध्ये एक मानिन्छ । यस निबन्धमा उनी बद्रीनाथ, केदारनाथको तीर्थयात्रा गर्न आउँदा भारी बोक्ने नेपाली कुल्लीहरूको तत्कालिन अवस्थाको वर्णन पढन पाइन्छ । सन १९८१ आसपास, कलेज पढदा ताका सहपाठी उपेन्दरले ‘यो पढ नेपालीको कथा’ भनेर स्मृति की रेखाएँ पढन दिँदा, आफ्नै बाउ बाजेको कथाले मन छोएकोले डायरीमा उतार गरि राखिएको थियो । अहिले पनि तिनीहरूका सन्तान दरसन्तानको अवस्थामा सुधार नआएको र त्यही नियतिमा जीवन निर्वाह भईरहेको छ । यही सन्दर्भमा कसैले उहिल्यै रचना गरेको एक गीतको अहिले पनि सम्झना छ ।
भागी चेला शहर बसी मोटर घुइकाउँदा छन्,
अभागी बद्रीका लइन कण्डी चुइकाउँदा छन् ।
केही दिनअघि समेत त्यस प्रकारका मानिसहरूको फोटो सामाजिक संन्जालमा भेटिएको र हाल पनि त्यतिकै सान्दर्भिक हुने त्यसको अनुवाद यहाँ प्रस्तुत छ ।)
खैरो रंगको पुरानो कागजको टुक्रामा लेखिएको रसिद औलामा च्यापेर जब म कुल्लीहरूको चित्रगुप्त अर्थात ठेकदार तिरबाट उता फर्किएर बाहिर निभ्ने बेला बल्ने बत्ती जस्तो साझँलाई हेर्न लागेँ, त्यही बेला आफ्ना अधिनमा रहेका आत्माहरूको हिसाब किताब र आफ्नो महत्ताको वर्णन रोक्नुप¥यो ।
कयौंचोटी खोकेर जब वृद्ध महोदय श्रोताको उदासिनता भंग गर्न नसकोस्, त्यस बेला अगाडि झुकेको दाहिने कानमा माटोले मैलो भाँचिएको नीब भएको कलम घुसारेको र बाँंगोटिंगो औंलामा ढक्कन विनाको र पानी मिसाइएको पातलो मसीले भरिएको कलम सहित बडो जतनसंग बिस्तारै खुटकिलाबाट तल झरे । उनी गएपछि तुरुन्तै अनेक कुल्लीहरू मेरो कोठा अगाडि जम्मा हुन लागे । यी डोट्याल नाम दिइएका जीव पनि विचित्रका हुन्छ ।
नेपाल, भुटान आदिबाट जो कुल्ली आउँछन्, उनीहरूको बिशेषताको मापदण्ड भारी उठाउने शक्ति मात्र हुन्छ । तिनीहरूमा प्रायः सानो भन्दा सानो कुल्ली पनि डेढ दुई मनको भारी उठाएर अग्लो पहाडहरूमा धेरै माइल लामो चढाई पार गर्न सक्छ । तर रुपमा यिनीहरू सबै शिवका नन्दी भृगि जन्ती हुन्छन् । तिनीहरू कुरुप हुन्छन्, दीन होइन । यीनीहरू दिन बढी र कुरुप कम हुन्छन् । कोही टाटको सिलाइएको विचित्र पाइजामा र फाटेको कालो छिर्के विर्के कम्मलको ओढने जस्तो कुर्ता घाटीका लटकाएर भालु जस्तै घुमिरहेको छ ।
कसैले सेतो फाटेर धुजा धुजा भएको सेतो कोट लगाएको, कमरमा नाम्लो बाँधेको र उभिएर कपाल कन्याइरहेको बँदेल जस्तो जन्तु जस्तो लाग्छ । कसैको कडा कुकुच्चा र बटारिएको पन्जा भएको औला भएको खुट्टा माटो सम्याउने धुर्मुससंग प्रतिस्पर्धा गर्दछन् र कुनै स्वरचित मुँजको खस्रो चप्पलमा बाँधिएर पैताला हुनुमा भ्रम पैदा हुन्छ । घाममा बसेर जुम्रा हेरिरहेका केही मानिसहरूले बाँदरको सम्झना दिलाउँछन् । कोही पसलेबाट मागेर मुख र हात खुट्टामा मलेको तेलका कारण पानीबाट बाहिर निस्केको जल जन्तु जस्तै चम्किरहेको छ ।
यीनीहरूमा मानिसको रुप भएर होइन, यी पनि मानिस हुन भन्ने लागेर थाहा हुन्छ । यस्तो विचित्रको रुपको भिड देखेर मेरी सानी आमा त एक कुनामा दबेर बसिन् र भक्तिन बाहिर ढोका उभिएर विस्मय मुद्रामा निरिक्षण र परिक्षण गर्न लागिन । किनकी दैन्य र विचित्रताको यस्तो संयोग त हाम्रो गाउँमा पनि पाइँदैन । मैले केही उदासिन भएर भने “तिमीहरू सबै जाउ हाम्रो कुल्ली जंगबहादुर हो, उसैलाई पठाइदेउ ।”
मेरो कुरा बुझेर उनीहरू आपसमा मुखामुख गर्न लागे । भीडमा कुनै साहसीले भन्यो “माईजी, यो हो जंगिया” । मैले यो नामबाट जंगबहादुर चिन्न सकिन, फेरि भनें “जंग बहादुर बोलाई देउ ।” उनीहरू अचम्मित भएर एक अर्र्कोलाई धकेल्न लागे । फेरि अर्कोले एक जनालाई अगाडि ठेलेर भन्यो “जंगिया यही हो ।” जसलाई धकेलेर ल्याइएको थियो, उसमा आफ्नो कुल्लीको उपयुक्त अंश थोरै पनि नभेटेर मैले शंकित दृष्टिले प्रश्न गरे “के नाम हो तिम्रो ?” उत्तर आयो “जंगबहादुर सिंह ।” नामले नामको आधारलाई ठिकसंग हेर्नु आवश्यक थियो ।
पहाडको बाटो र ढुंगाको चोटबाट फुटेका नङ र चोटिला औलाहरू बीचमा ढाल बनेका थिए । खुटटाका चप्पलहरू मानौ मनुष्यलाई पशु बनाएर पनि खुर नदिएको उपहास गरिरहेका थिए । खुटटाबाट दुई औला माथि, ऊनी र सुती मिसाइएर बनाइएको पाइजामा मनुष्यको लज्जाशिलताको बिडम्वना जस्तो लाग्थ्यो । कसैबाट धेरै पहिले प्राप्त भएको पुरानो कोटमा भित्रको मैलो न मैलो अस्तर बाहिर निस्केर माथिल्लो तह झालरदार भएर उठथ्यो । त्यो कपडा लगाउने मानिस मोटो रौं भएको जन्तु भएको भान हुन्थ्यो ।
अस्पष्ट रंग र अनिश्चित रुप भएको दुई तह भएको टोपीको प्वालबाट सुख्खा रौं जतासुकै आएर मैलो पानी र उसको बीच बीचमा हेरेर कुनै जनावरको सम्झना आउथ्यो । बाक्ला आँखी भौं तल मुख चौडा र नाक केही गोलो परेको थियो । हाँसोले निरन्तर खुला रहने ओठ कुना कुनामा फैलाएर गाला र कानको अन्तरलाई लुकाई दिन्थे । कालो डोरो जस्तै सानो र पातलो छेउको दुई कुनामा झुलेको जुँगाले सानो दाँतहरूबाट प्रकट हुने बालक कालको विरोध गरि रहेका थिए ।
एकातिर सानो निधार र तल्तिर सानो गोलो चिउडोबाट समेटिएको चौडा मुखलाई, रोकेर पुछिएको जस्तै सानो आँखाले मरुभूमिको जलासयको झलक दिन्थ्यो । निरन्तर घाममा तापिएको कारण शरीरको गोरो रंग कतै पुरानो तामा जस्तो र कतै कालो भएको थियो । भारी बोक्ने गाँठो पारिएको पुरानो नाम्लो घाँटीको माला बनेर एकातिर काँधमा झुण्डि रहेको थियो । अर्को कमरपेटी जस्तो बनेर कोटका धुजाबाट कहिले देखिने र कहिले लुक्ने गरि रहेको थियो ।
त्यो जंगबहादुर अथवा जंगिया थियो । उसलाई आफ्नो भाई धनसिंहसँग भएर मेरो सामान लिएर केदारनाथ हुँदै बदरीनाथ पुरीसम्म जानु र श्रीनगर फर्कनु थियो । एक रुपैयाँ प्रति दिनको हिसाबबाट प्रत्येकको ज्याला निर्धारण गरिएको थियो, जसमा रुपैंयाँको एक आना कमिशन ठेकदारलाई प्राप्त हुन्थ्यो । “तिम्रो भाई कहाँ छ” भन्ना साथ “धनिया ओ धनिया” को आवाज दिँदा, सबैले पटकपटक अगाडि धकेल्दा पनि जो दाईको पछाडि नै अडि रह्यो । उसलाई मैले विना कसैले बताउँदा पनि धनसिंह सम्झें । जंगबहादुरको अनुहार पनि आफ्नो बालकपन प्रति यति सतर्क थियो कि उसलाई देखेर कुनै पौराणिक भाईको सम्झना हुन्थ्यो ।
गोलो केही पुष्ट शरीर वाला धनियाको आकृति पनि उसको स्वभावको अनुरुप थियो । बाक्लो खैरो भौको सरल रेखा, सानो नाक केही तिखो उसको सरलता र तेजस्वी पनका परिचय दिई रहेको थियो । ओठको दाहिने कुना केही माथि आएको जस्तो थियो, जसबाट उसको मुखमा मुस्कुराई रहेका भाव स्थायी जस्तो देखिन्थ्यो । रंगको स्वच्छता र छालाको चिप्लोपनाबाट यस जीवनको कठोरता अहिलेसम्म उसले भोगेका छैन जस्तो लाग्दथ्यो ।
टाटको पुरानो पाईजामा र जीनको फाटेको कोट उसलाई हारेको सिपाहीको भूमिका दिइरहेको जस्तो देखिन्थ्यो, जो उसको मुखको भावका साथ विरोधाभास उत्पन्न गर्दथ्यो । पहाडको उकालो, ओरालो बाटोमा मलाई आफ्नो र आफ्ना साथीहरूको जीवन यीनीबाट नाप्नुपर्छ । बाटोमा जीवनको सबै सुविधाहरूका लागि यिनीहरू मेरो संरक्षणमा आएका छन् । यस विचारले यी दुवै कुल्लीको लागि मेरो मनमा नमागेको ममता उत्पन्न गरी दियो । मैले भने “तिमीहरू दुवै सामान हेर, बढी हुने भए एक अर्को कुल्ली पनि लिनुपर्दछ ।”
अगाडि अगाडि जंगिया र पछाडि धनियाले कोठाभित्र प्रवेश गरे । सानी आमा र भक्तिनीलाई अचम्मित बनाएर उनीहरू भारीको गह्रुंगो पोका अचानक उठाउँदै वजनको अनुमान गर्न थाले । मैले धेरै चोटी पैदलै लामो पर्वतीय यात्राहरू गरि सकेकी छु, जसमा सफलताको मूल मन्त्र सामानहरू कम राख्नु नै मानिन्छ । अतः यस सम्बन्धमा मबाट भुल हुनु असम्भव नै थियो । फेरि यो पनि म विश्वास गर्दिन कि जुन यात्रामा खाद्य सामाग्रि बाटोमा पाउँछ, वहाँ पनि घिउका बटटा वा बिस्कुट बिसौ बट्टाहरू बोकेर हिडनु परोस् ।
हिउँको सुन्दर शिखरहरूको छायामा पाल्सनको बटर र हन्टले पामर्श बिस्कुट खान मलाई मन पर्दैन । तर त्यही काठ दाउरा जम्मा गरेर आलु पोल्ने र खाना बनाउने दुखसंग म बिशेष रुपले परिचित छु । मेरी सानी आमा अवश्य पनि केही बढी सामान लैजान चाहान्थिन, तर मेरो सानो सानो इच्छालाई बढी महत्व दिने उनको बानी छ । उनका छोराहरूले जुन तीर्थमा लान सक्दैनथे त्यो तीर्थमा मैले उनलाई घुमाई रहेकी थिएँ ।
अतः म सबै छोराहरू भन्दा जेठी हुँ र मेरो बुद्धि सबै तिरबाट विश्वसनीय छ, यस सम्बन्धमा उनलाई कुनै शंका थिएन । यसमा सबैका आवश्यक कपडा, ओढने, औषधीको बट्टा, कपडा धुने साबुन र आवश्यक बस्तु मात्रै साथ थिए, जसलाई जंग बहादुरले पास गरिदियो । अर्को दिन बिहानै हाम्रो यात्रा आरम्भ भयो । यस्तो यात्रामा सिनेमाको जस्तो जीवन देखिन्छ । यसबाट हामी कुनै जातिको सम्बन्धमा यस्तो धेरै देखेर जान्न सक्छौ, जो अन्य कुनै प्रकारले सम्भव हुँदैन । घरमा ब्यक्ति आफ्ना आश्रित र सेवक प्रति आफ्नो ब्यवहार लुकाउन र कृत्रिम बनाउन सक्छ, तर यात्रामा यो सहज हुँदैन ।
मानिसमा जुन स्वार्थ विवेकहिनता, क्रुरता र असहिष्णुता रहन्छ, त्यो यस्तो यात्रामा यता उता कदम कदममा प्रकट भइरहन्छ । कुलीलाई पैसा दिने बेलामा, उसको आराम र भोजन समय निश्चित गरेर साथीहरूको सुख दुःखको चिन्ता र सहायताको अवसरमा मानिस आफ्नो अन्तरतममा यस्तो आभास दिन्छ, जसबाट उसको चरित्रको राम्रो ब्याख्या हुनसक्छ । एकातिर सेतो शतदलकी पहाडहरू जस्तै केही बन्द, केही खुला कही स्पष्ट, कही अलक्ष पर्वत श्रेणीहरू र अर्को तिर कहीँ हरिया बालीबाट फले फुलेका खेत र कही गलेका चाँदी जस्ता पानीका स्रोतहरूको बीचमा जो जीवन गतिशिल छ, उसलाई देखेर प्रसन्नता भन्दा बढी करुणा आउँछ ।
डाँडीमा बसेर कोही ठुलो भूडी भएकोले आफ्ना कुलिहरूलाई सर्प सर्प भनेर यसरी दौडाउछ कि उसलाई देखेर स्वर्गमा अधिकार पाएर पनि देवता बन्न नसकेका नहुषको सम्झना आउछ । कुनै डाँडीमा कुनै सम्पन्न घरकी श्रृंगारित पसराधित महिला पहाडका सौन्दर्यको आनन्द नलिएर उपेक्षा गरि आँखा चिम्लेर सुतेकी हुन्छिन् । कुनैमा झुकेको शिर र सुकेको दाउरा जस्तै शरिर भएकी कुनै वृद्धा कटु तिक्तताको अनुभवबाट उत्पन्न मुद्रा धारण गरेर बाटोमा आँखा घुमाउँदै जान्छिन । कतै, कुनै धनहीन प्रौढ कण्डीमा बसेर दुवै खुटटा झुण्डयाएर माग्ने मुद्रामा आकाश तिर हेरि रहन्छ ।
कतै, कोही सानो टटटुमा बसेको वीर, घोडा वालाको पुच्छर समातेर हिडन दिरहेको छैन, किनकी यस ब्यायामबाट उ डराई रहेको छ । कतै डाँडीमा मृग चर्म ओछयाएर बसेको मठाधिस, शंख झालर लिएर पैदल हिडने शिष्यहरूलाई देखेर सदेह स्वर्गारोहणको अनुभव गरि रहेका छन् । यस डाँडी, कण्डी र टटटु आदिबाट भरिपूर्ण दलका अतिरिक्त एक अर्को दल पनि छ । जसमा दरिन्द्रको बाहुल्य छ । प्रायः रुपियाँको अभावमा यिनीहरूमा अधिकांश विना टिकटको रेल यात्रा समाप्त गरि आउनमा सिपालु हुन्छन ।
फेरि पाँच रुपियाँदेखि पाँच आनासम्म थैलीमा राखेर पोकामा सातु चमेना गुड समेत लिएर हिँडेका हुन्छन् । जिउँदो फर्कने साधनहरूको अभावमा यिनीहरूको यात्रा सबै भन्दा अन्तिम विदा पछि आरम्भ हुन्छ । बाटोमा जहाँ बिरामी भयो साथी छोडेर अगाडि जान्छन् । दुई चार दिन त्यहाँ बस्न थाल्यो भने सबैको सर सामाग्री र पैसा सकिने डर रहन्छ । त्यस अवस्थामा कसैको पनि लक्षसम्म पुग्न असम्भव हुनसक्छ । यसै कारण उनीहरू सबै डरका कारण यस्तो सम्झौता गरेर हिडछन् । किनकी एक जना पुग्न नसक्नु उसको ब्यक्तिगत पापहरूको परिणाम हो । तर, यदि उसका कारण अन्य पनि पुग्न सकेनन् भने अरु पुग्न नसकेको पाप पनि उसकै टाउकोमा थोपरिने छ ।
चट्टीहरूमा यीनीहरू मध्ये एक दुई बिरामी बसिरहेका हुन्छन्, कतै–कतै मर्ने पनि गर्दछन् । अन्तिम क्रियाको काम यात्रीहरूबाट मागजाग गरेर सम्पन्न गरिन्छ । साधन नपाइए नदीको गहिरो गल्छी त स्वाभाविक समाधी छँदैछ । पैदल हिँड्नेहरूमा कहिले काँही भ्रमणप्रिय पर्यटक पनि आउँदै जाँदै गरेको भेटिन्छन् । ती यात्रीहरू आवश्यक सामानहरूका साथमा रहन्छन । उनीहरूको पद यात्राको काम मनोरन्जनको लागि रहेको हुन्छ । किनकी अधिकांशका साथमा टट्टु रहन्छ, जसलाई यात्रीहरूको सुविधा अनुसार कहिले अगाडि र कहिले पछाडि हिडनुपर्ने हुन्छ ।
गरिब पैदल हिडने मानिस सित न डाँडी वाला बोल्छन, न यी फैशनेवल यात्री । डाँडीहरूको समुहमा पनि मृत्यु अपरिचित छैन, तर त्यो कुल्लीहरू सम्मै सीमित रहन्छ । कहिले काँही कुनै कुल्लीलाई हैजा भयो भने कसैलाई ज्वरो आयो, कसैलाई गहिरो चोट लाग्यो भने तुरुन्तै अर्को कुल्लीको ब्यवस्था हुन्छ र यात्रा अबिराम चल्दै रहन्छ । बिरामी कुल्लीलाई उसैको भाग्यमा छोडिन्छ । बाँच्यो भने उ जहाँबाट हिडेको थियो, उही फर्केर अर्को यात्री खोज्न थाल्छ । म¥यो भने फ्याँकी दिने सुविधाको अभाव छैन । डाँडीहरूको साथमा सामान बोक्ने कुल्ली पनि रहन्छनु तर उनीहरूलाई पनि डाँडीहरूका साथ दौडनु पर्ने हुन्छ । यी यात्रीहरूको स्थिति धेरैजसो यस्तो रहन्छ, जस्तो हाम्रोमा एक्कावालाको ।
उनीहरू बाह्र रुपियाका टट्टु किनेर ल्याउँछन र त्यसलाई दिन रात यसरी दौडाइन्छ कि कम भन्दा कम समयमा छत्तीस असुल होस् । थाकेको र टुटेको टट्टु मर्दा पनि उसले बाह्र रुपियामा नयाँ टट्टु किनी हाल्छ र उ नाफामा रहन्छ । यात्री पनि एक रुपियाँ प्रति दिन दिएर कुल्लीहरूलाई किन्दछ, यसैले नाफाको दृष्टिबाट तीन दिनको बाटो एकदिनमा पार गर्ने ईच्छा स्वाभाविक हो अन्यथा उ घाटामा रहन्छ ।
यात्री त बसी बसी निदाई रहन्छ । पकवान सुकेका खाद्य पदार्थ आदि उसको साथमा रहन्छन । त्यसैले उसलाई भोक र थकाई केहो भन्ने थाहा हुँदैन । तर उ कुल्लीहरूको विश्राम र आरामको समय घटाउदै रहन्छ । बिहानै भनिदिन्छ कि बीस मिल बाटो पुरा गर्नुपर्छ । चाहे कसरी हिँडनुपर्छ, तर बेलुकासम्म यति नहिँडदा ज्याला काटेर दिइने छ । ती विचारा मानव–पशु दौडदै स्वाँ–स्वाँ गर्दै मुखबाट आवाज निकालेर दौडिन्छन् । आश्चर्यको कुरा यो छ कि बलिया तिनीहरू नै हुन्छन् । यही तिनीहरू मध्ये कसैले निधार खुम्च्याएर आफ्नो सवारीतिर हेरेर कुनै अभिप्रायका साथ गहिरो खाडलमा हेर्न थाल्यो भने सवार बेहोस भएर जानेछ । तर उनीहरूमो क्रोध आओस् पनि कसरी ।
यसै स्वर्गको टुक्राको हृदयमा बसेको मृत्यु र पवित्रता भित्र लुकेको ब्याधिको बीचमा हामीलाई मार्ग बनाउनु प¥यो । म डाँडीमा त बस्दिन, अरु पनि पैदलै हिडे । मानिसको भावका समान सम्प्रेषणीय अरु केही छैन । यसैबाट हाम्रा कुल्ली स्नेहशिल साथ बनोस् र आज तिनीहरूको सम्झनालाई त्यस तीर्थको पुण्यफल मान्दछु । ती दुईसंग दुई टाटको टुक्रा र एक फाटेको कालो कम्बल थियो । जसलाई चौडाई तिरबाट ओढनु कठिन थियो र लम्बाई तिरबाट ओढदा यदि खुट्टा ढाकिएमा शिर बाहिर रहनु अनिवार्य थियो र शिर ढाक्यो भने खुट्टाको बहिस्कार गर्न स्वाभाविक हुन जान्थ्यो । मैला नधोएका कपडामा पनि ती दुई भाईले स्वच्छता विषयक ज्ञान छोडेका थिएनन् ।
चटटीबाट सबैभन्दा टाढा अँधेरो कुना खोजेर उनीहरू कडकडाउँदो जाडोमा कपडा टाढा राखेर धोतीधारी बाबाजीको भेषमा भात बनाएर खान्थे । स्वच्छ कपडाको अभावमा आचारको समस्याको यो समाधान निमोनियाको निमन्त्रणा हो । यो मैले उनीहरूलाई प्रयत्न गर्दा पनि सम्झाउँन सकिन । भाँडाको नाममा प्रत्येकसंग एक फलामको ताप्के थियो, जसमध्ये एकमा दाल बन्थ्यो भने अर्कोमा भात । कहिले काँही दालको खर्च बचाउनको लागि उनीहरू पानीको झरनाको किनारबाट खोजेर निगुरो नामको जंगली तरकारी भाँचेर ल्याउँथे र त्यसैको स्वाद लिएर काँचो, पाकेको बाक्लो रोटीहरू खान्थे । बाटामा आलुका अतिरिक्त कुनै हरियो साग तरकारी पाइँदैन ।
निगुरोलाई जंगलीहरूले खान योग्य बिषालु घाँस सम्झेर कोही पनि खान चाहादैनथ्यो । एक चोटी जिद्दीपूर्वक सागको आतिथ्य स्वीकार गर्दा त्यसमा मेरो पनि भाग लगाइँन थालियो र त्यसरी त्यसले हाम्रो खानामा महत्वपूर्ण ब्यन्जनमा स्थान प्राप्त ग¥यो । बाटोमा हामी सबै उनीहरूको पछाडि हिडथ्यौँ । शेष शरीर भारीको ओट (छेकिने) मा भएका कारण केवल उनीहरूको खुटटा मात्रै मेरो निरिक्षणको सीमामा रहन्थे । धनसिंहको आँखा चाहे संकोचका कारण उठदैनथ्यो, तर उसका खुटटा दाईसंगै दृढताका साथ उठथे ।
जब कुनै बेला उकालोमा उनीहरूको पंजाको भार कुर्कुच्चामा पर्दथ्यो र अगाडि राखिएको खुट्टा पछाडि आएको जस्तो लाग्दथ्यो । त्यस बेला म विना उनीहरूको मुख देखेर थकाईको अनुमान लगाउँथे । तर जंगबहादुर थाक्यौ कि भनेर सोद्धा विचित्र भाषामा त्यही परिचित जवाफ पाइन्थ्यो । “ठिक छ माँ केही अप्ठेरो छैन ।” उसको गम्भिरताका कारण, उसको त्यो शब्द उच्चारणको फरकपनाबाट मलाई हाँसो आउँदैनथ्यो । नत्र उसले प्रयोग गरेका शब्द हाँसो उठाउन थियो । जीवनको धेरै छोटो अवस्था किन नहोस् म माँको सम्बोधन र उसको उपयुक्त ममताको उपहार पाई रहेकी छु ।
ती पहाडका छोराहरूको आमा सम्बोधनमा जो कोमल स्पर्श र ममताको सहज स्वीकृति रहन्थ्यो, त्यो अन्यत्र दुर्लभ रह्यो । धनिया त संकोचका कारण शिर उठाएर हेर्दैनथ्यो, तर जंगिया बाटामा कयौँ चोटी घुमेर हाम्रा आवश्यकताहरू र थकावटको जानकारी लिई रहन्थ्यो । अन्तमा एक दिन अमूल्य वस्तु माग्ने मुद्रामा याचक भावमा भन्यो । “माताजी तपाई अगाडि जानु ठिक हुन्छ । हामी पछाडि हेर्छौ फेरि हेर्छौ भारीले घाँटी घुम्दैन । अगाडि भयो भने हामी शिर उठाएर हेर्न सजिलो होला । तपाइँहरू अगाडि जानु भयो, भनेर हाम्रो पाइँला छिटो बढने छ ।” त्यसबेला देखि हामी अगाडि हिडन लाग्यौँ । आदिबद्री पुगेपछि बेसरी आएको ज्वरोले धनसिंह चट्टीको एक कुनामा गएर पल्टियो । मैले आफ्नो होमियोपैथिक र्आषधिको बट्टाबाट औषधि खोजेर “निरस्त या्दवे देश एरण्डोऽपि दु्रमायते” को भनाई लागु गर्न चाहेँ ।
जंग बहादुरलाई बसेको देखेर मैले बिरामीको खुट्टा मिच्ने आदेश दिएँ । उसले परिचित संकोचका साथ भन्यो “म ठुलो हुँ माताजी” यस शिष्टाचारको कुरा सुनेर म अचम्ममा पर्नु स्वाभाविक थियो । हाम्रो तिर एक सम्भ्रान्त परिवारकी वृद्धा आमाले भनेकी थिइन कि उसको छोरा जबतब उस माथि हात उठाएर पिटछ । मातृत्वको सम्झना गराउँदा उत्तर दिन्छ “त्यो जमाना गई सक्यो जब तिमीहरू सबै खुट्टाको पूजा गराउँथ्यौ, पैदा ग¥यौ त ग¥यौ । क्या यसै कारण म तिमी माथि चन्दन चढाउँदै जन्म बिताइदिउँ ?” जन्म दिने आमाको सम्बन्धमा मानिस यति अशिष्ट भएर जान्छ तब सहोदरता बिषयक शिष्टताको चर्चा गर्नु ब्यर्थ हुने छ । तर जंग बहादुरको भाई यति गतिशिल भएको थिएन ।
त्यस कारण जेठो भाईबाट खुटटा मिच्न लगाउनु उसको शिष्टाचारको विरुद्ध लागोस् यो आश्चर्य थिएन । कुल्ली बिरामी भएपछि यात्रीहरू रोकिदैनन । चट्टी अथवा नजिकको गाउँबाट अर्को कुल्ली बोलाएर तुरन्तै अगाडि बढछन । यसै नियमका कारण ती दुई भाईको सरल र सहज स्नेहको जुन परिचय अचानक पाइएको थियो, त्यो अन्य परिस्थितिमा पाउन सकिदैनथ्यो । जंगबहादुरलाई थाहा थियो, उसको भाईको ठाउँमा अर्को कुल्ली लिइने छ । तर उसले त्यसलाई छोडेर गएमा धनसिंहकी आमालाई के उत्तर देला ।
धनिया न बिरामी अवस्थामा फर्किन सक्थ्यो, न चट्टीका एक्लै बसी रहेर ठिक हुन सक्थ्यो । केही दिन अरु रोकिएमा रुपियाँ सकिने अवस्था निश्चित थियो । त्यहाँबाट अर्को भारी पाउन पनि असम्भव हुन्थ्यो । यस्तो स्थितिमा उसलाई छोडेर जेठो दाज्यु कर्तब्यच्युत भएर बढ्न सक्दैनथ्यो । अतः उसले बिहानै दुई नयाँ कुल्ली बोलाएर ल्याउने र उ स्वयं धनियाको रेखदेखको लागि रोकिने निश्चय गरि सकेको थियो । धनियाले दाज्युको मुखबाट उसको निर्णय नसुन्दा पनि सबै थाहा पाई सकेको थियो । उसको दाज्यु उसलाई छोडेर जान नसक्ने विश्वास थियो । अतः उसको काम पनि जाने र जो कमबेशि रुपिया पाइने थियो, ती पनि बिमारीमा खर्च हुन्थ्यो ।
त्यसबेला अर्को भारीको प्रतिक्षा गर्नु अथवा फर्किनु पनि कठिन थियो । त्यसैले उसले पनि चाहे जे सुकै होस्, भारी लिएर अगाडि बढने निश्चय गरि सकेको थियो । बिहान झरनाबाट हात मुख धोएर आएपछि मैले चटटीको तल्लो खण्डमा जंगबहादुरलाई नयाँ कुल्लीको साथमा पर्खि रहेको र माथि धनसिंहलाई कपडाको पट्टि टाउकोमा बाँधेर भारी सम्हाली रहेको देखेँ । “के तिमीलाई आराम भयो ।” सुनेर थकावटबाट उत्पन्न पसिनाको थोपा पुछदै भन्यो कि उ हिँडनसक्छ । यदि उ गएन भने उसको दाइको नोक्सान हुनेछ ।
ती दुवै काका बावुका छोराहरूको स्नेह भावले मलाई केही समयको लागि निशब्द बनायो । “म दुई तीन दिन यहीँ रोकिएर उनीहरूसंगै यात्रा आरम्भ गर्नेछु ।” यो सुनेर उनीहरूको मुखमा अचम्मको भाव देखिएर आयो । उनीहरूलाई देखेर ग्लानी पनि भयो र खिन्नता पनि । मानिसले मानिसका प्रति आफ्नो दुब्र्यवहारलाई यति स्वाभाविक बनाई सकेको छ कि उसको अभावमा विस्मय उत्पन्न गरि दिन्छ र अन्य उपस्थिति साधारण भएर जान्छ । तेस्रो दिनमा धनसिंहलाई आराम भएपछि चौथो दिन हाम्रो यात्रा पुन चालु भयो ।
ती दुवैको पारस्परिक ब्यवहार, सौहार्द आदिले मेरो मनमा उनीहरू प्रति जो ममतामय आदरको भाव उत्पन्न भएको थियो, त्यो उत्तरोत्तर बढदै गयो । मेरा केही किताबहरू, औषधिको बाकस, भाँडा आदि वस्तुहरू अलि गह्रुंगो थियो । त्यसकारण उनीहरू दुवैको बीचमा प्रत्येक आफ्नो भारीमा बाँधेर अर्काको भारी हलुका गरि दिन चाहान्थ्यो । बिहान एकभन्दा अर्को पहिले उठने प्रयत्न गर्न चाहान्थ्यो, जसबाट सबै गहु्रंगो चीज आफ्नोमा बाँध्न पाइयोस् ।
एक बताशा (खानेकुरा) दिँदा पनि एक भाई अर्को भए तिर खोज्न दौडन्थ्यो । कुनै हेर्न लायक वस्तु देखिएमा सामने आउँदा एक अर्कालाई बोलाउन थाल्दथ्यो । ती दुवै यस्ता दुई बालक जस्तै थिए, जसलाई कुनै जादुको छडीले छोएर त्यति ठुलो गरि दिएको थियो । बाटोमा अन्य कुल्लीहरू प्रति पनि उनीहरूको ब्यवहारमा सम्बेदनशिलता र सहानुभूति नै रहन्थ्यो । एक चोटी पहाडबाट ओल्रिएको गाई यति वेगले बाटोसम्म चिप्लदै तल आयो कि त्यसको खुरले एक कुल्लीको खुट्टामा चोट लाग्यो । धनसिंहलाई सामान जिम्मा लगाएपछि जंगबहादुरले त्यस रगताम्य खुट्टा भएको कुल्लीलाई पिठयुमा बोकेर झरनासम्म लिएर गयो ।
हामीले मलम पट्टी गरि सकेपछि उसलाई डेढ मिल टाढा अघिल्लो चट्टीसम्म पु¥याएर आयो । यति मात्र होइन उसलाई आफ्नो र कुल्लीको भारी समेत लिएर जानु प¥यो । जाडो र अधेरोमा आफ्नो फाटेको कपडामा लागेको रगतको दाग पनि सफा गर्नु प¥यो । तर प्रश्न सोध्दा उसबाट एक मात्रै उत्तर पाइन्थ्यो “केही अप्ठेरो छैन सबै ठिक छ हजुर ।” धनसिंह संकोची भएको कारण कुराकानी धेरै कम गर्दथ्यो । तर जंग बहादुर जब तब बसेर आफ्ना बुवाआमा, गाउँ, घर, आदिको कहिले सुखद र कहिले दुःखद कथा भनिरहेको हुन्थ्यो ।
उ नेपालको सानो गाउँको आमा बुवाको एक्लो छोरा थियो । जीविकाको अन्य साधन नभएकोले उ बाल्यकालबाट नै अन्य कुल्ली साथीहरूको साथमा यतातिर आउन लाग्यो । गर्मी लागेसँगै उनीहरू यतातिर आउने र हिउँद लाग्ना साथ उनीहरू फर्केर जान्छन् । मजदुरीको काममा कैलाश, कसैलाई पिण्डारी र बद्री केदारको यात्रा गर्नुपर्ने हुन्छ । ठेकदारसँग सबैको नाम र नम्बर रहन्छन् ।
यदि कुनै कुल्ली फर्केर आउँदैन वा समाचार पनि प्राप्त हुँदैन भने पनि त्यसलाई मरिसकेको मानिन्थ्यो । यसरी नै यदि कुनै मानिस सिजनको अन्तमा घर फर्केन वा कुनै साथीहरूको माध्यमबाट कुनै समाचार पठाएन भने घरका मानिसहरू उसको महायात्रा सम्झेर क्रियाकर्मद्वारा उसको बाटो सुगम बनाउने प्रयत्न गर्छन भन्ने पनि सुनियो ।
जंगबहादुर अनेक आपत्तिमा परि सकेको छ किन कि उ धेरै कमाउने इच्छाको कारण टाढा टाढाको यात्राहरू मात्र गर्दैन, एक सिजनमा अनेक यात्राहरू पनि गर्ने गर्दछ । उसको अनिश्चित जीवनका कारणले नै विवाह योग्य कन्याको बुवाले उसलाई ज्वाईको लागि उपयुक्त मान्दैनथे । तर दुई बर्ष पहिले उ अविवाहित रहने अभिशापबाट मुक्त भएको थियो । युवती केटीको आमाबुवा त थिएन नै ।
सम्बन्धितहरूले सोचे चाहे वर कुनै हिमशिखरमा समाधी लेओस् चाहे धन कुबेर भएर फर्कियोस् आफ्नी कन्या त आफ्नै घरमा रहने छ । यसबाट बेचारा अभिभावक त आफ्नो कर्तब्यबाट मुक्त हुनेछन् । गत बर्ष जंगबहादुर मजदुरीको लागि आउँदै आएन । यस बर्ष खेतमा केही उब्जनी नै भएन र पत्नीले पुत्ररत्न उपहार दिइहाली । अब त केही न केही कमाउने प्रश्न उग्र भएर आयो । जब घरबाट हिँड्यो, उसको छोरा दुई महिनाको भइसकेको थियो, तर यति दुर्बल र सानो थियो कि उसलाई बावुले काखमा लिने साहस गर्न सकेन ।
अब उ खाना पिनाबाट बचेको मजदुरी घरमा लैजानको लागि जम्मा गरिरहेको थियो । जुन कुनै इनाममा पाइन्छ, उसबाट पुत्रको लागि एक टोपी र भोटो बनाउने चाहाना राखेको छ । युवती पत्नीले पटकपटक आँसु पुछेर फाटेको फरिया फैलाएर बिन्ती गरेकी थिइन् कि राम्रो मान्छेसँग जानु र भारी लिएर एक चोटी भन्दा बढी पहाड चढाई नगर्नु । बुवाले पिठ्युमा हात राखेर आकाशमा धमिलो आँखा उठाएर मानौ उसलाई भगवानको जिम्मा लगाएका थिए । उसकी आमा गाउँको सीमा भन्दा बाहिरसम्म रुँदै रुँदै आएकी थिइन् । बडो कठिनाईसँग अनेक आश्वासन दिँदा पनि उनी फर्किनन् । त्यही एक जीर्ण रुखको सहारा लिएर दृष्टिबाट बाहिर गई रहेको छोरालाई आँसुहरूको तारले बाँध्ने निष्फल प्रयत्न गर्दै रहिँन ।
विदाको यो कर्म त सनातन थियो, तर यस साल त्यस अनुष्ठानमा भाग लिनको लागि उसकी विकल पत्नी र अबोध छोरा अगाडि बढेका थिए । जंगबहादुरलाई चरम समर्थ मानेर उसकी विधवा काकीले पनि उसलाई आफ्नो पुत्र जिम्मा दिएकी थिइन । यसै कारण उ यस्तो यात्रकिो खोजमा रहन्छ, जो उनीहरू दुवैलाई साथै लिएर जाओस् । बद्रीनाथ तिरको यो दोस्रो यात्रा थियो, यसैबाट मैले कम भन्दा कम समयमा प्रशान्त अलकनन्दाको तटमा बसेको त्यस अलकापुरीमा पुग्नको लागि लागि केदारनाथको पथ छोडी दिनु ठिक सम्झिएँ, तर जब त्यहाँबाट फर्केर रुद्र प्रयाग पुग्यौँ, त उत्ताल तरंगमा ताण्डव गरि रहेकी अलकनन्दाको किनारमा तुफानमा क्षण भरिको लागि स्थिर भएको फूलको सम्झना दिलाउँथ्यो, त्यसबेला केदार नगएको पश्चाताप गहिरो भएर आयो ।
जसले पाँच जलको धाराहरूबाट घेरिएको र रंगिविरंगि फूलमा लुकेको चरणदेखि लिएर शून्य निलिमामा प्रकट मस्तकसम्म सेतो हिउमा समाधिस्थ केदारको पर्वत देखेका छन, उनीहरू नै त्यसको आकर्षण थाहा पाउँछन । सयौ माइल टाढाबाट त्यो उज्वल शिखर अक्षरहीन आमन्त्रणका समान खुला देख्न सकिन्छ । जब जब हामी त्यसतिर बढदै जान्छौँ, त्यो बिस्तारै बढदै जान्छ र उसको रजत विद्युत लेखाहरूका समान मिलमिलाई रहेको रेखाहरू बढी स्पष्ट भएर जान्छन् ।
फर्किदा जुनबेला त्यो हाम्रो दृष्टिबाट हराउँदै जान्छ, त्यसबेला हामी विचित्र एक्लोपनको अनुभव गर्दछौ । रुद्रप्रयाग पुगेर केही साथी यति थाकेका थिए कि यति लामो उकालो चढनको लागि साहस गर्न सकेनन् । वास्तवमा बद्रीनाथको पर्वत शिखरबाट केदारको पर्वत शिखर केवल अढाई कोषको अन्तरमा स्थित छ । तर त्यहाँसम्म पुग्नको लागि नौ दिनको समय लाग्छ । “नौ दिन हिडेर अढाई कोष”को भनाई वास्तवमा यहीँ सत्य हुन्छ ।
जब मैले त्यहाँ जाने निश्चिय गरें, त्यसबेला बिशेष थाकेका साथीहरू रुद्र प्रयागमा हाम्रो प्रतिक्षा र विश्राम गरेर एक पन्थ दुई कामको चरितार्थ गर्नको लागि प्रस्तुत भए । त्यहाँ जान लाग्दा सामानको लागि एक कुल्ली प्रर्याप्त थियो । अतः अर्को कुल्लीको समस्याको समाधान आवश्यक भयो । मेरो ब्यक्तिगत ईच्छा थियो कि अर्को कुल्ली पनि यात्रीहरूको साथमा विश्राम गरोस् र अठार दिनपछि हामी फर्कदा साथै हिडोस् । तर जंगबहादुर माताजीको अठार रुपियाँ त्यसै कसरी लेओस् । उसले धेरै संकोच र वरदान याचक मुद्रामा जे भन्यो, त्यसको आशय यो थियो कि उसले माता जीलाई चिनीसकेको छ । अतः विश्वास पूर्वक धनसिंहलाई छोडेर जानसक्छ ।
यहाँबाट श्रीनगर पुगेर नयाँ यात्रीको खोज पनि गरी भाईलाई पनि पर्खेर बस्नेछ । सबै फर्केर आएपछि उ धनियासँग अर्को यात्रा गर्नेछ । जंगविरको स्वार्थ त्यागमा कुनै काव्य चाहे नलेखियोस्, तर मेरो हृदयमा उसको स्मृति एक कोमल मधुर कविता हो । मैले जंगवीरलाई आफुसँग जान र धनसिंहलाई रुद्रप्रयागमा विश्राम गर्ने आदेश दिएँ । त्यसबेला उसका आँखाहरू अधिक सजल भएर आए र घाँटी भरिएर बढी गदगद भयो, यो वर्णन गर्नु कठिन छ ।
उसले धेरै साहस गरेर फर्कने प्रस्ताव गरे पनि हामी सबैबाट छुट्टिएर जानु उसको लागि कठिन थियो । धेरै दिनपछि उसले आफ्नो अटपटि भाषामा भन्यो “हामी यहाँ लाज अथवा सम्मानले रोएनौँ, फेरि टाढा गएर जोरसँग रोयौँ । सोच्यौँ, माताजीसँग छुटिटने कल्पनाले हामीलाई भित्रैदेखि कस्तो कस्तो भएर आउँछ ।” यो यात्रा पनि समाप्त भयो । एकदिन हामी सबैलाई बसमा बसालेर ती दुवै भाई हराएका जसरी खडा भएर रोए । जंगविरले आँसु रोक्ने प्रयास गर्दै भन्यो “माताजी बाँची रहनु फेरि आउनु, जंगियाको नाममा चिट्ठी पठाउनु ।” धनिया सधैँको जस्तै पृथ्वीमा आँखा गरेर बीचबीचमा झरिरहेको आँसुको भाषामा विदा दिइरहेको थियो ।
आज ती दुई भाई पहाड पुत्र कता होलान्, त्यो त म भन्न सक्दिन, तर उनीहरूको माताजी भएर मलाई जो सम्मान प्राप्त भयो त्यो भनि साध्य छैन ।
(अनुवादक: श्यामबहादुर खडका)