जाजरकोट : जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको ज्यान गएको छ । गएको कात्तिक १७ गतेको भूकम्पपछि दुई हप्तामा तीन जना वृद्ध र एक महिलाको ज्यान गएको हो ।
घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको मङ्गलवार र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको बुधवार ज्यान गएको स्थानीयवासीले बताएका छन् । कार्की र सिंह दमका बिरामी थिए ।
यसअघि कात्तिक २४ गते शुक्रवार नलगाड नगरपालिका–४ का ८४ वर्षका गोपालबहादुर रावल र ४८ वर्षकी पम्फा रावलको ज्यान गएको थियो । गोपालबहादुर दम र पम्फा निमोनियाबाट पीडित थिए । भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा धेरै परिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले चिसो बढ्न थालेसँगै पीडितमा स्वास्थ्य समस्या देखिने जोखिम भएकाले आवश्यक तयारीको काम थालिएको बताए। उनका अनुसार यो महिनाभित्र अस्थायी आवास बनाएर पीडितको व्यवस्थापन गर्न प्रक्रिया अगाडि बढेको छ ।