धनगढी : नेकपा एमालेले आगामी मंसिर १४ गतेदेखि शुरु गर्न लागेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को तयारीमा जुट्न खेलकुद महासंघले मातहतका निकायलाई सर्कुलर जारी गरेको छ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट उद्घाटन गर्ने यात्राको तयारीमा लाग्न खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशले सर्कुलर जारी गरेको हो।
शुक्रबार खेलकुद महासंघ सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष प्रकाशकुमार चन्दको अध्यक्षता तथा केन्द्रीय सचिव तथा प्रदेश ईन्चार्ज बिष्णु चन्दको प्रमुख आतिथ्यतामा बसेको बैठकले माथहतका निकायलाई तयारीमा लाग्न निर्देशन गरेको हो।
महासंघ प्रदेश कमिटी बैठकले एमालेले चलाएको अभियान अन्तर्गत पार्टी अध्यक्ष ओलीले मंसिर १४ गते झुलाघाटमा उद्घाटन गरी पुस ५ गते चिवाभन्ज्याङमा समापन हुने पुस्पलाल मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्रालाई सभ्य र भब्य तरिकाले सम्पन्न गर्न महासंघ तयार रहेको जनाएको छ।
महासंघले बैतडी, डडेल्धुरा, डोटी र अछाममा महासंघका तर्फबाट स्वागत गेट, ब्यानर र झण्डा सहित पार्टी अध्यक्षको शुरक्षाका लागि प्रत्येक जिल्लाबाट ३० जना स्वयमसेवक परिचालन गर्न निर्देशन गरेको छ।