काठमाडौं : व्यवस्था परिवर्तन गर्न भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो आन्दोलनमा सहभागी हुन काठमाडौंका मेयर बालेन शाहलाई आग्रह गरेका छन्।
शनिवार काठमाडौंको सिफलमा आयोजित कार्यक्रममा प्रसाईंले कार्यकारी प्रधानमन्त्री बनाउने भन्दै आन्दोलनमा साथ दिन आग्रह गरेका हुन्।
‘बालेनजीलाई पनि फेसबूकमा मात्र लेख्ने होइन, दुर्गा प्रसाईंसँग आएर उभिनुस् मुलुक बनाउने हो भने’, प्रसाईंले भने, ‘तपाईँलाई मन पराए भने कार्यकारी प्रधानमन्त्री बनन्नुस् मलाई चाहिँदैन। आउनुस् पहिला यी महिलाका आखाका आशु पुछौं। तपाईँ पनि सिराहा सप्तरीतिरको हो, यी महिला पनि त्यतैका हुन्।’
प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न रोक लगाएपछि उनले पशुपति मन्दिर नजिकैको सिफल चौरमा आन्दोलन गरेका थिए।
बिहीवारको प्रदर्शनमा उल्लेख्य सहभागिता रहे पनि शनिवार उनको आन्दोलनमा सर्वसाधारणको उपस्थिति न्यून थियो।
मधेशबाट आएका महिलाहरू कार्यक्रममा उपस्थित भएका थिए।