डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिकास्थित भागेश्वर मन्दिर आज राति मेला लाग्दैछ। कार्तिक शुक्ल पक्ष बैकुण्ठ चर्तुदशीका राति भागेश्वर गाउँपालिका–२ स्थित भागेश्वर मन्दिर मेला लाग्ने गरेकोमा आज राति उक्त मेला लाग्ने भएको हो। उक्त मेला धुरा जाँतका नामले पनि प्रसिद्ध छ।
समुद्री सतहदेखि २ हजार बढी मिटर अग्लो महाभारत पहाडमा रहेको उक्त मन्दिर सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिक क्षेत्र हो। २२ गाउँको ढुङ्गा, काठ, नगद, जिन्सीसहित मिस्त्री पनि ल्याएर भागेश्वरको मन्दिर निर्माण गरिएको किम्बदन्ती छ।
पहिले भागेश्वर देवताकोमा २२ वटा देउरो जाने चलन भए पनि अहिले आएर ग्वानी, डुङ्गरी, सिराड, रुपाल, बगरकोटबाट मात्रै देउरो जाने गरेको छ । भागेश्वरसँग पासो, कैलपाल, बेताल हुन्छन् । पासो देवता भागेश्वरका प्रमुख द्वारपाल हुन्।
भागेश्वर रुपाल नौतडीका गुणाकर जोशी र कमलाकर भाट बिहानी नित्यकर्म गर्न नजिकको खोलामा गएको र खोलाको पानी सूर्यलाई चढाउने क्रममा रगत देखेपछि त्यसैलाई पछ्याउँदै गर्दा ’फुटलिङ्ग’ रुपमा अहिले अवस्थित स्थानमै पाएको इतिहास छ।
सोहीकारण गुणाकर जोशी र कमलाकर भाटका सन्तानले कर्ताको रूपमा यज्ञमा बस्नु पर्दछ। पूजामा गाईको दूध, गङ्गाको जल र पहेलो रङ्ग मात्र चाहिने भएकाले श्रीखण्डको चन्दनबाट पूजा हुने गर्दछ।
भागेश्वर देवताको दर्शन गर्न सुदुरपश्चिमका नौं वटै जिल्ला लगायत भारतको कमाउ गडवाल बाट पनि धर्मालम्बी आउने गर्दछन्। भागेश्वर मन्दिरमा नजिकसम्म सडक सञ्जालले जोडिएपछि धर्मालम्बी हरुलाई निकै सहज भएको छ।
यस्तै आज राति परेको मेलाका लागि भागेश्वर गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। गाउँकार्यपालिकाको भदौ १८ गतेको निर्णयानुसार भागेश्वर गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले जानकारी दिए।