धनगढी: कैलाली प्रहरीले ‘कुख्यात’ अपराधी भनेका धनगढीका शेख मुनिर अहमद पक्राउ परेका छन्। आज (आइतबार) मुनिर पक्राउ परेको प्रहरी स्रोतले बतायो।
स्रोतका अनुसार लामो समयदेखि फरार रहेका मुनिर जिल्ला प्रशासन कार्यालयमा अचानक फेला परेपछि समातिएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, एसपी देवेन्द्रबहादुर पालले पनि मुनिरलाई पक्राउ गरिएको पुष्टि गरे। उनका अनुसार एक जनाको गाडी कब्जा गरेको आरोपमा उनलाई अनुसन्धानका लागि समातिएको हो।
आज उनलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको एसपी पालले बताए। उनी आज एक पुरानो मुद्दाको छलफलका लागि प्रशासन कार्यालयमा आएकै बेला समातिएका हुन्।
प्रहरीका अनुसार उनीविरुद्ध दर्जनौं मुद्दाहरु जिप्रका कैलालीमा दर्ता भएका छन्। उनीविरुद्ध प्रहरीमा कब्जा, ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर, अभद्र व्यवहार लगायतका मुद्दा रहेको बताइन्छ।
यस्तै नेपाली काँग्रेसका कार्यकर्तासमेत रहेका उनले पीडा दिएका पीडितहरु अहिले पनि सम्पर्कमा आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
केही वर्ष अगाडि अपहरणको आरोपमा बिरगञ्जबाट फरार भएर खाली हात आएका मुनिरले धनगढी आएपछि मात्रै करोडौंको सम्पत्ति जोडेको देखिजान्नेहरुको दाबी छ। केही समयअघि उनी धनगढीकै मुस्लिम समुदायमा दङ्गा गराएको आरोपमा पक्राउ पर्ने भएपछि भागेर लुक्दै आएका थिए।