धनगढी: सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालको सरुवा भएको छ। हिजोमात्रै ढकालको सरुवा प्रदेश नीति तथा योजना आयोग बाग्मती प्रदेश कार्यालयमा भएको हो।
सुदूरपश्चिम आएको छोटो समयमै हिजो उनको सरुवा भएपछि गणेश सिंहले निमित्त सचिवको जिम्मेवारी सम्हालेका छन्। मन्त्रालय स्रोतका अनुसार मन्त्रीसँगको टसलका कारण ढकाल आफैं सरुवाका लागि धाइरहेका थिए।
मन्त्रालयमा आएदेखि मन्त्री झपट साउदले सचिवलाई अनावश्यक दबाब दिदै आएकाले उनी आजित बनेर सरुवाका लागि लागिरहेका थिए। केही समय अगाडी मात्रै कर्मचारीहरु सरुवाको क्रममा मन्त्री साउदले सचिव ढकाललाई प्रेसर दिएर सरुवा गर्न लगाएको भन्दै उनीहरुको टसल झन बढेको मन्त्रालय स्रोतको दाबी छ।
उता मन्त्रीलाई पनि सचिव ढकालको सरुवाले हाइसञ्चो भएको बुझिएको छ। मन्त्री र तत्कालीन सचिवकै टसलका कारण मन्त्रालयका अन्य महत्त्वपूर्ण कामहरुका प्रक्रिया पनि थन्किएको कर्मचारी स्रोतको दाबी छ।