काठमाडौँ : हमासले चार दिनका लागि गरिएको अस्थायी युद्धविराम सकिनै लाग्दा यसलाई लम्ब्याउन आफू तयार रहेको बताएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने हमासले थप बन्धकहरूलाई रिहा गर्ने भए युद्धविरामलाई लम्ब्याउन सकिने प्रतिक्रिया दिएका छन् ।
इजरायल-हमास सम्झौता अन्तर्गत शुक्रबारबाट सुरु भएको युद्धविरामको आज अन्तिम दिन हो । इजरायलले हमासले रिहा गर्ने हरेक १० बन्धकका लागि एक दिन युद्धविराम लम्ब्याउने यसअघि नै बताइसकेको छ । गाजा क्षेत्र नियन्त्रण गर्ने हमासले इजरायलको यस प्रस्तावबारे आफ्नो धारणा सार्वजनिक गरेको थिएन । इजरायली प्रधानमन्त्रीको कार्यालयले सम्झौताको तेस्रो दिन हमासले बन्धकहरूलाई रिहा गरेको पुष्टि गरेको केही घण्टापछि हमासले लामो युद्धविरामका लागि तयार रहेको बताएको हो ।
हालसम्म हमासले सम्झौता अन्तर्गत ३९ इजरायली बन्धकहरुलाई रिहा गरिसकेको छ भने इजरायलले ११७ प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ । गाजाका अन्य १९ बन्धकहरू- १७ थाई, एक फिलिपिनो र एक रुसी-इजरायली दोहोरो नागरिकलाई पनि हमासले शुक्रबार यता रिहा गरिसकेको छ। नेपालका विपिन जोशी भने अझै पनि हमासकै नियन्त्रणमा छन् ।