एजेन्सी : हमासले बन्धक बनाएका थप ११ जनाको रिहाइ गरेको छ। इजरायली सेनाका अनुसार हमासको अक्टोबर ७ मा भएको आक्रमणपछि बन्धक बनाएका ११ जनालाई रिहा गरेको छ। ‘रेडक्रसबाट प्राप्त जानकारीको आधारमा ११ जना बन्धकहरू हाल इजरायली क्षेत्रतर्फ जाँदैछन्,’ सेनाले एक विज्ञप्तिमा भन्यो।
उता, कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले ट्वीटरमा भनेका छन् कि इजरायली जेलबाट ३३ प्यालेस्टाइनीहरूलाई रिहा गरिने छ। इजरायल र हमासले शुक्रबार देखि गाजामा चार दिनका लागि लडाइँ रोक्न सहमत भएपछि यस अवधिमा इजरायलले राखेका १५० प्यालेस्टिनी बन्दीहरूको बदलामा कुल ५० जना बन्धकहरूलाई रिहा गरिएको छ।
यसैबीच गाजामा शुक्रबारदेखि सुरु भएको चार दिने युद्धविराम दुई दिन थपिएको छ। सोमबार चार दिने युद्धविराम सकिनुअघि नै दुवै पक्षले दुई दिनका लागि सम्झौता लम्ब्याउने सहमति गरेका थिए।
इजरायल र हमासबीचको युद्धविराम वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका खेल्दै आएको कतारले युद्धविराम २ दिन लम्बिएको जनाएको छ।