नयाँ दिल्ली : विगत १७ दिनदेखि उत्तराखण्डको उत्तरकाशीस्थित सिल्क्यराको निर्माणाधीन सुरुङमा फसेका ४१ जना कामदारको सकुशल उद्धार गरिएको छ। उत्तराखण्ड सरकारले यसको पुष्टि गर्दै उद्धार कार्यको १७औँ दिनमा सबै कामदारलाई सकुशल बाहिर निकालिएको बीबीसीले जनाएको छ।
बाहिर निकालिएका मजदुरलाई मुख्यमन्त्री पुष्कर सिंह धामीले स्वागत गरेका छन्। उनीहरूलाई एम्बुलेन्सबाट सिधै चिनयालीसौरको स्वास्थ्य केन्द्रमा लान लागिएको छ। त्यहाँ सरकारी चिकित्सकको निगरानीमा उपचार हुने बताइएको छ। उनीहरुलाई निकाल्न करिब ५८ मिटरको सुरुङ खनिएको थियो।
रिपोर्टका अनुसार सुरुङमा फसेका सबै मजदुरको स्वास्थ्य अवस्था ठिक रहेको छ। पछिल्लो १६ दिनमा सुरुङमा फसेका मजदुरलाई टेलिफोन सेवा उपलब्ध गराइएको र उनीहरुले परिवारका सदस्यहरुसँग लगातार कुराकानी गरिरहेको उत्तराखण्ड राज्यका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।