बाजुरा : बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। निल्लाको हिमाली गाउँपालिका–६ धुलाचौर नजिकै बोलेरो जीप दुर्घटना भएको हो।
बिहीवार धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २७ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए।
उनलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा पुर्याइएको र त्यस लगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरी निरीक्षक ऐरीले बताए। जीपमा सवार जिल्लाको गौमुल गाउँपालिका–३ का अन्दाजी १८ वर्षीय बसन्त धामी घाइते भएका छन्। उनको खुट्टामा चोक लागेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ऐरीले बताए।
चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले बताएको छ। जीप चालक खत्याड गाउँपालिका-९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रण लिइसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।