काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले उडानको समय परिवर्तन गरेकाले ३१ यात्रु छुटेको प्रष्टीकरण दिएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले परराष्ट्र मन्त्रालयको पत्रअनुसार प्रधानमन्त्रीको भ्रमणका कारण निर्धारित समयभन्दा दुई घण्टा अघि सारिएकाले ३१ यात्रु छुटेको प्रष्टीकरण दिएका हुन्।
समय परिवर्तन गरेको विषयमा सबै यात्रुलाई जानकारी दिएको तर, जानकारी पाउन नसकेका यात्रुहरुमात्रै छुटेको उनको भनाइ छ।
मन्त्री किरातीले छुटेका यात्रुहरुलाई होटलमा राख्ने व्यवस्था गरेको र अहिले गन्तव्यतर्फ पठाइसकेको जानकारी दिए।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ९ः३० मा प्रधानमन्त्री दुबई गएका थिए।
Facebook Comments Box