दार्चुलाः दार्चुलामा एक महिलामाथि निर्घात कुटपिट भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ कसाड निवासी ३० वर्षीया बसन्ती ठगुन्नामाथि निर्घात कुटपिट भएको हो।
ठगुन्नालाई मङ्सिर १५ गते राति जेठाजु नाता पर्ने जयराम ठगुन्नाले निर्धात कुटपिट गरेको पीडित ठगुन्नाले बताएकी छन्। उनी नौगाड गाउँपालिका कार्यपालिका सदस्य समेत हुन्।
उनी नेपाल काम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट गाउँकार्यपालिका सदस्यमा निर्वाचित भएकी थिइन्।
कुटपिटबाट टाउँको र अनुहारमा गहिरो चोट लागि घाइते भएकी ठगुन्नाको मङ्सिर १६ गते जिल्ला अस्पताल, दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी रिफर गरिएको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए।
रातिको समयमा घर भित्र प्रवेश गरी जेठाजुले निर्धात रुपमा कुटपिट गरेको पीडितले बताएकी छन्।
उनी भन्छिन्, ‘पति विदेशमा छन्। राति १० बजे एक्कासी ढोकामा आवाज आयो। ढोका खोलेपछि जेठाजु कोठाभित्र प्रवेश गरी निर्धात रुपमा कुटपिट गरे।’
पीडित पक्षले जयरामविरुद्ध मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र जयराम फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डिएसपी शिवबहादुर सिंहले बताए।
उनको स्वास्थ्य उपचार धनगढीस्थित मायामेट्रो अस्पतालमा भइरहेको छ।