काठमाडौं: रथीमा बढुवा सिफारिस भएका उपरथी अशोकराज सिग्देल विवादमा तानिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको ‘जन्ममिति विवाद’ छानबिन गरेर जानकारी गराउन रक्षा मन्त्रालयलाई पत्र पठाएको छ।
जंगी अड्डाले मङ्सिर ८ मा सिग्देललाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो। सूचना प्रकाशन गरेको ७ दिनपछि जंगी अड्डाले उनलाई रथीमा बढुवा गर्न सिफारिस गरेको हो।
तर, उनको रथीमा बढुवा गर्न मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने फाइल रक्षा मन्त्रालयमा छ। सिग्देलको अर्को ‘विवादित’ फाइल पनि रक्षा मन्त्रालयमा पुगेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार सिग्देल बिरुद्ध आयोगमा उजुरी आएको थियो। सोही अनुसार अख्तियारले आवश्यक छानबिन गरेर रिपोर्ट पठाउन रक्षा मन्त्रालयमा पठाएकाे हो।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ घर भएका अशोकराज सिग्देलको वास्तविक जन्ममिति २०२१ चैत १९ भए पनि उनले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा २०२३ माघ १९ बनाएको अख्तियारमा परेको उजुरीमा उल्लेख छ।
यसअघि जन्ममिति किर्ते गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए। पाण्डेले कार्तिक २४ मा बुझाएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ।