काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान अयोगका आयुक्त जयबहादुर चन्दकी छोरीले बबण्डर मच्चाएकी छन्। बालुवाटारमा रहेको एक आफन्तको घरमा आयुक्त चन्दकी छोरीसहितको समूहले बाउको धम्की दिँदै बबण्डर मच्चाएको हो।
आइतबार साँझ बालुवाटारमा रहेको आफ्नो घरमा सुप्रभा चन्दसहितको समूह गएर बबण्डर मच्चाउँदै तोडफोड गरेको पीडित मनिषा बास्कोटाले बताइन्।
नाताले छोरीकी जेठानी पर्ने सुप्रभा चन्दसहितको समूह आफूहरु घरमा नभएको समयमा प्रवेश गरी तोडफोड गरेको उनको भनाइ छ। उनकाअनुसार सुप्रभा अख्तियारका आयुक्त जयबहादुर चन्दकी छोरी हुन्।
बुवा अख्तियारको आयुक्त भएको धम्की र पावर देखाउँदै आफूहरुको घरमा आएर तोडफोड गरिएको उनको दाबी छ। प्रहरीले पक्राउ गर्न खोज्दासमेत सुप्रभाले आयुक्तकी छोरी हुँ भन्दै धम्की दिएपछि प्रहरी फर्किएको उनले जिकीर गरिन्।
आफूहरु नभएको समयमा घरमा प्रवेश गरी तोडफोड गरेपछि पीडित मनिषाले जिल्ला प्रशासन कार्यालय काठमाडौँ, प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त मालीगाउँमा शान्ति सुरक्षा र तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै निवेदन दिइएको बताइन्।
यस सम्बन्धमा बुझ्न मोबाइलमा सम्पर्क गर्दा सुप्रभा चन्दले कुनै रेस्पोन्स गरिनन्। यता प्रहरीले भने दुई परिवारबिचको विवाद भएकाले तत्कालै कुनै कारबाही प्रक्रिया अगाडि नबढेको र उजुरी आएमा कारबाही गर्ने बताएको छ।
प्रहरी वृत्त मालीगाउँका डीएसपी इन्द्रप्रसाद सुवेदीले उजुरी आएमा छानबिन गरी कारबाही गरिने बताए। डीएसपी सुवेदीका अनुसार मनिषाको छोरी र सुप्रभाको देवरबिच एक वर्ष अगाडि मात्रै विवाह भएको थियो।
तर, छोरीमाथि हेला भएको र बन्दी बनाएर राखिएको भन्दै मनिषाको परिवारले छोरीलाई उनको घरबाट ल्याई अमेरिका पठाएका थिए। त्यसपछि उनीहरु झगडा र तोडफोड गर्न मनिषाको घरमा पुगेका थिए।