काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एनसेल प्रकरणमा अनियमितता भेटिए तत्काल कडा कारवाहीको दायरामा ल्याइने बताएकी छिन् । मङ्गलवार अपराह्न एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारकी प्रवक्तासमेत रहेकी शर्माले अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएका नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारवाहीको दायरामा ल्याउने बताएकी हुन् ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले सरकार एनसेल खरिद बिक्रीका सन्दर्भमा प्रचलित कानुनी प्रावधान तथा अन्तराष्ट्रिय विधि र प्रक्रिया पालना एवम् त्यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजश्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेसमेत बताएकी छिन् ।
‘नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।
नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुनको पालना गर्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेकोसमेत प्रवक्ता शर्माको भनाई छ ।