दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिकामा आइतबारदेखि सुरु भएको एकीकृत घुम्ती शिविर अन्तर्गत मंगलबारसम्म पालिकाका तीन वडाका ९६७ जनालाई सेवा दिइएको छ।
‘लिएर सेवाका सबै प्रकार, जनताको घरघरमा स्थानीय सरकार’ भन्ने मूल नाराका साथ गएको गाउँपालिकाले एकीकृत घुम्ती शिविर वडा नम्बर १ बाट सुरु गरेर हिजो वडा ३ मा सम्पन्न गरेको छ।
आज गाउँपालिकाको वडा ५ मा घुम्ती शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। भौगोलिक विकटताका कारण पालिका केन्द्रमा आएर सेवा लिन नसक्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा दिन लागिएको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिए। गएको आइतबार वडा नम्बर १ भर्तोलाबाट सेवाको थालनी गरिएको उनले बताए।
गाउँपालिकाले शिविरमार्फत शिक्षा, स्वास्थ्य, कृषि, परामर्श, सामाजिक सुरक्षा लगायत विभिन्न क्षेत्रसंग सम्बन्धित सेवा दिइरहेको छ।
वडा नम्बर १ मा आइतबार ६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण, २९ जनालाई आँखा उपचार, ५० जनालाई पशुसेवा, ५० जनालाई औँषधी वितरण, ३६ जनालाई आयुर्वेद सेवा, २ वटा विद्यालय अनुगमन र ३२ वटा उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण प्रशिक्षण गरि कुल २५५ जनालाई घुम्ती शिविर मार्फत सेवा दिइएको मालिकार्जुन गाउँपालिकाका एमआइएस अपरेटर लोकेन्द्रसिंह धामीले बताए। यस्तै सोमबार वडा नम्बर २ भगवतीमा भएको आठ प्रकारका सेवाअन्तर्गत तीन सय ३५ जनाले सेवा लिएका छन्।
भगवतीबाट शिविर अन्तर्गत सामाजिक सुरक्षा भत्ता २७ जना, योजना लागत अनुमान स्टमेट स्वीकृत ९ जना, पशु सेवा परामर्श तथा औषधि वितरण ७९ जना, स्वास्थ्य परीक्षण तथा परामर्श ६५ जना, औषधि वितरण ६५ जना, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा ५७ जना, विद्यालय अनुगमन १ तथा उपभोक्ता समितिलाई प्रशिक्षण ३२ जनालाई दिइएको मालिकार्जुन गाउँपालिकाका एमआइएस अपरेटर लोकेन्द्रसिंह धामीले जानकारी दिए। शिविरबाट कूल १६४ महिला र १६१ पुरुषले सेवा लिएका छन्।
यस्तै हिजो शिविर अन्तर्गत गाउँपालिकाको वडा ३ मडबाट सामाजिक सुरक्षा भत्ता १५ जना, पशु सेवा परामर्श तथा औषधि वितरण ८० जना, स्वास्थ्य परीक्षण तथा परामर्श ९५ जना, औषधि वितरण ९५ जना, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा ६९ जना, विद्यालय अनुगमन ३ तथा उपभोक्ता समितिलाई प्रशिक्षण २० जनालाई दिइएको मालिकार्जुन गाउँपालिकाका एमआइएस अपरेटर लोकेन्द्रसिंह धामीले जानकारी दिए। शिविरबाट कूल २२० महिला र २५४ पुरुषले सेवा लिएका छन्।
आज वडा ५ डाडाकोटमा शिविर संञ्चालन हुने पालिकाले जनाएको छ। शिविरमा एमबीबीएस डाक्टरद्धारा दीर्घरोगी, बृद्धबृद्धाको स्वास्थ्य परिक्षण, औषधि वितरण, पशुजन्य रोग र उत्पादनसम्बन्धी परामर्श तथा उपचार सेवा, सामाजिक सुरक्षा भत्ता वितरण, विद्यालय अनुगमन, आयुर्वेद, लघु उद्यम लगायत विभिन्न शाखामार्फत सेवा दिने काम भइरहेको मालिकार्जुन गाउँपालिकाले जनाएको छ।