कैलाली– स्थानीय तहको निर्वाचनको समयमा भारतसंग सीमा जोडिएका जिल्लाका नाका ७२ घण्टासम्म बन्द गरिने भएको छ । नेपाल भारत सीमा समन्वय समितिको शनिबार कैलालीमा सम्पन्न बैठकले निर्वाचनका बेला भारतसंग सीमा जोडिएका जिल्लाका सीमा नाकामा ४८ घण्टा अघिदेखि ७२ घण्टासम्म बन्द गर्ने निर्णय भएको हो । शनिवार दुई देशका सुरक्षा अधिकारीहरूको उपस्थितिमा कैलालीको गोदावरीमा बैठक सम्पन्न भएको हो ।
गृह मन्त्रालयबाट निर्देशन भए अनुरूप चुनाव लक्षित कार्यक्रम अन्तरगत नेपाल–भारतका सीमा जोडिएका जिल्लाहरूका सीमा सुरक्षा अधिकारीहरू बिच भेट वार्ता भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
थापाले अत्यावश्यक बाहेकका सेवाहरू शव बहान, एम्बुलेन्स बिरामी, प्रट्रोलीयम पदार्थ बोकेका गाडीहरू बाहेकका अन्य आवतजावतका सेवाहरू समेत निर्वाचन हुने दिन भन्दा ४८ घण्टा अगावै सिमाना बन्द गरिने निर्णय र दुई देशको जोईन्ट सर्कलले गर्ने अन्य सुरक्षा रणनितिहरुबारे समेत छलफल भएको बताए ।
यसै गरी, भारतीय प्रशासनको प्रतिनिधित्व गर्दै लखिमपुर खिरीका सहायक जिल्ला अधिकारी सञ्जय कुमार सिंहले नेपालमा हुन गइरहेको स्थानीय तहको चुनाव भयरहित, निष्पक्ष र धाँधलीमुक्त तरिकाले सम्पन्न गर्न पूर्ण सहयोग गर्ने बताए ।
बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, सशस्त्र प्रहरी प्रमुख धन ब। सिंह लगायतका प्रहरी अधिकारीहरू तथा कञ्चनपुर र भारतको लखिमपुर खिरीको प्रशासन तथा सुरक्षा प्रमुख एवम् अधिकारीहरूको सहभागिता रहेको थियो ।