दार्चुला– दार्चुलामा सत्ता गठबन्धनबीच सीट भागवण्डामा असन्तुष्टि भएपछि नेकपा एकीकृत समाजवादीले जिल्लाका विभिन्न स्थानीय तहमा छुट्टै उम्मेदवारी दिने घोषणा गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष बीरबहादुर ठगुन्नाले सत्ता गठबन्धनमा रहेका नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रले आफूहरुको अपमान गरेको भन्दै छुट्टै उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
‘सत्ता गठबन्धनको मर्म र भावनामा गम्भीर चोट पुगेको अनुभव भएको छ,’ उनले भने, ‘हामीलाई भागवण्डामा समावेश गरिएको छैन् ।’ उनले अपमानित हुँदै पार्टीको अस्तित्व नरहनेगरी गठबन्धनमा रहन नसकिने बताए ।
जिल्लामा स्थानीय तह भागवण्डामा नेपाली कांग्रेसले पाँच स्थानीय तह प्रमुख र सात वटा स्थानीय तह उपप्रमुख लिने र नेकपा माओवादी केन्द्रले चार वटा स्थानीय तह प्रमुख र दुई वटा स्थानीय तह उपप्रमुख लिने गरी सहमति भएको छ । भागवण्डामा वेवास्ता गरिएपछि नेकपा एकीकृत समाजबादीले अहिले एक्लै चुनावमा जाने तयारी गरेको हो ।