महेन्द्रनगर : महेन्द्रनगर स्थित नेपाली सेनाको श्री दल गुल्म भगतपुर ब्यारेकले पर्यटकिय क्षेत्र बेदकोट ताल परिसरमा सरसफाइ गरेको छ ।
बेदकोट नगरपालिका–४ स्थित रहेको बेदकोट तालको संरक्षणका लागि गुल्मका सह–सेनानी जीसीको कमाण्डमा गएको सेनाको ७१ जनाको टोली, जनप्रतिनिधि र स्थानीयहरुको सहयोगमा शनिवार ताल परिसरमा सरसफाइ गरिएको हो । तालको नजिकै एउटा मन्दिर रहेको छ ।
जहाँ पुजा र दर्शन गर्नेहरूको घुईचो हुने गर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको बेदकोटमा पिकनिक खान आउनेहरूको संख्या उल्लेख्य हुन्छ । हरियाली चुरेपर्वतको फेदीमा भएको यो तालको सुन्दरताले यहाँ आउने सबैको मन छुने गर्छ । वर्षेनी हजारौको संख्यामा मानिसहरू यो ठाँउ घुम्न आउने गर्छन ।
सेनाले यसअघि साताव्यापी सरसफाइ अभियान अन्तर्गत भीमदत्त नगरपालिका स्थित बैजनाथधाम रौटेला मन्दिर,विष्णु मन्दिर र महेन्द्रनगर स्थित सालघारीमा रहेको पार्कमा समेत सरसफाइ गरेको थियो ।