धनगढी : सुदुरपश्चिमको पर्यटन प्रवर्द्धन गर्न पुनः पोखरा-धनगढी सिधा हवाई सेवा सञ्चालन गर्नुपर्ने व्यावसायीहरूले माग गरेका छन्।
पोखराबाट सुरु भएको जाउँ है पोखरा अभियानअन्तर्गत सोमबार पोखरा र धनगढीका पर्यटन व्यवसायीसहित विभिन्न संघ संस्थाका प्रतिनिधिबिच भएको छलफलमा सहभागीहरूले सो कुरा बताएका हुन्।
सुदूरपश्चिमबाट भारतीयसहितका अन्य पर्यटकलाई लक्षित गरी धनगढी–पोखरा सिधा हवाई उडान पुनः नियमित सञ्चालन गर्न सके दुवैतर्फ पर्यटक भित्र्याउन सकिने व्यवसायीहरूले बताएका छन्।
केही समयअघि धनगढी–पोखरा बुद्ध एयरलाइन्सले सिधा हवाइ उडान सुरु गरे पनि कोभिडपछि उक्त सेवा हाल स्थगित भएकोले पोखरा धनगढीको पर्यटन प्रवर्द्धन प्रभावित भएको व्यवसायीहरूको गुनासो छ।
हवाई सेवा भएमा भारतको सीमावर्ती क्षेत्र उत्तराखण्डलगायतका क्षेत्रबाट आउने पर्यटकलाई सुदूरपश्चिम क्षेत्रको पर्यटकीय गन्तव्यमा एक दिनको बसाइपश्चात दुई दिनको बसाइ पोखरामा राख्न सकिने प्रवल सम्भावना रहेको पर्यटन व्यवसायी मायाप्रकाश भट्टले बताए।