काठमाडौ: लोक सेवा आयोगले परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जना परीक्षार्थीलाई कारबाही गरेको छ। आयोगले विभिन्न पदका लागि लिएको लिखित परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जनाको परीक्षा रद्द गरेको हो।
महेन्द्रनगरमा लिइएको परीक्षामा दिवाकर सापकोटालाई सहायक केन्द्राध्यक्ष र निरीक्षकले खाली पाना कलमले काट्नु भनेकोमा उत्तर पुस्तिकाको खाली पाना च्यातेको भन्दै परीक्षा रद्द गरेको आयोगले जनाएको छ।
त्यस्तै जलेश्वरबाट खरिदार पदका उम्मेदवार विनोद बाबु शर्माको समेत परीक्षा रद्ध गरेको छ। उनले उत्तर पुस्तिकामा सहयोगी लेखक र उम्मेदवार दुवैले उत्तर लेखेको भन्दै आयोगले परीक्षा रद्द गरेको हो।
काठमाडौँमा लिइएको अमिनको परीक्षामा दाहिने कानमा इयरफोन लगाई मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको भन्दै रुकुम पश्चिमका दीपक नेपालीलाई कारबाही गरेको छ। उनलाई आयोगले लिने कुनै पनि परीक्षामा २ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाएको हो।