काठमाडौं : सहकर्मीमाथि झापड हान्ने संसद् सचिवालयका एक उपसचिवलाई स्पष्टीकरण सोधिएको छ।
संसद् सचिवालयको कर्मचारी प्रशासन महाशाखाले सचिवालयमा कार्यरत उपसचिव रामप्रसाद गैरेलाई स्पष्टीकरण सोधेको हो।
गैरेले सहकर्मी रहेकी शाखा अधिकृत महिला कर्मचारीलाई झापड हानेका थिए। गत मङ्सिरमा संसद् सचिवालयले प्रकाशन गरेको एक प्रतिवेदनमा आफ्नो नाम छुटाएको झोकमा उनले महिला सहकर्मीलाई झापड हानेका थिए।
स्पष्टीकरणमा उनले आफ्नो गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन्।
उनीमाथि विभागीय कारबाही गर्ने तयारी रहेको कर्मचारी प्रशासन महाशाखा प्रमुख डा. रोजनाथ पाण्डेले जानकारी दिए।
गैरेलाई सङ्घीय संसद् सचिवालय ऐन २०६४ को दफा ८३ अनुसार २ वर्षसम्म बढुवा रोक्का वा ५ ग्रेड तलब वृद्धि रोक्का मध्ये कुनै कारबाही गरिने उनले बताए।
झापड हान्ने गैरेलाई कारबाहीको भागीदार किन नहुने भन्दै अर्को पत्र काटिएको छ।