काठमाडौं : भ्रष्टाचार मुद्दामा विशेष अदालत, काठमाडौंको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको फैसला चित्त नबुझी शुक्रवार सर्वोच्चमा पुनरावेदन मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
एक अर्ब २४ करोड ३५ लाख २६ हजार ६४३ रुपैयाँ बराबरको राजस्व चुहावट गरेर भ्रष्टाचार गरेको कसुरमा घिमिरेसहितका व्यक्तिमाथि अख्तियारले मुद्दा दायर गरेको हो।
यसैगरी, ९ सिमेन्ट तथा चुन ढुंगा कम्पनीका कम्पनीका ९ जना सञ्चालकलाई पनि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। मुद्दा दायर गरिएकाहरूलाई राजश्व चुहावट गरे बराबरको फरक–फरक रकम बिगो कायम गरी मुद्दा दायर गरिएको हो।
तर विशेषले उक्त मुद्दामा दाबी नपुग्ने भन्दै उनीहरूलाई सफाइ दिएको थियो। विशेषको सो फैसला चित्त नबुझी शुक्रवार सर्वोच्चमा पुनरावेदन मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
विशेष अदालतले गत चैतमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका सहित १८ जनाविरुद्धको आरोप पुष्टि नहुने भन्दै सबैलाई सफाइ दिएको थियो।
१२ माघ २०७८ मा उनीहरु विरुद्ध एक अर्ब २६ करोड १९ लाख रुपैयाँ राज्यकोषमा नोक्सान पारेको दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो।
न्यायाधीशहरु रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले मापदण्ड विपरीत चुनढुंगा उत्खननका क्रममा जरिवाना नलिएको घटनाबाट राजस्व चुहावट नभएको र त्यसले राज्यकोषमा हानी नभएको ठहर गरेको थियो।
विशेष अदालतको फैसलाबाट खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, माइनिङ इञ्जिनियर जयराम घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, इञ्जिनियरहरु प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत बसन्त अधिकारी, भूगर्भविद डा. सौनक भण्डारीले सफाइ पाएका थिए।
त्यसैगरी सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपाने, सिद्धार्थ मिनरल्स प्रालिका पशुपति मुरारका, मारुती सिमेन्ट लिमिटेडका शरद गोयल, अन्नपूर्ण क्वायरिजका ऋषि अग्रवाल, उदयपुर मिनरल्सका प्रबलजंग पाण्डे, युनाइटेड सिमेन्टका नरेश दुगड, सोनापुर मिनरल्सका निपेश तायल, कञ्चभन क्वेरिजका भीमबहादुर थापा क्षेत्री र डोलोमाइट चुनढुंगा उद्योगका मानबहादुर श्रेष्ठलाई पनि विशेष अदालतले सफाइ दिएको थियो।