काठमाडौं: भूतपूर्व सैनिक सम्मेलनको प्रण-सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण/कोषको दिगोपन भन्ने मूल सन्देशका साथ नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा "भूतपूर्व सैनिक सम्मेलन-२०८१" कार्यक्रम २०८१ चैत्र ०७ गते शुभारम्भ भएको छ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली, डोटी, डडेलधुरा, अछाम, बैतडी, बझाङ, बाजुरा र दार्चुलामा एकसाथ सञ्चालन भएको यस सम्मेलनको मुख्य सम्मेलन केन्द्र कैलाली जिल्लाको तेघरीस्थित सुदूर पश्चिम पृतना हे.क्वा.मा प्रधान सेनापति महारथी अशोक राज सिग्देलबाट समुद्घाटन गरिएको हो।
समुद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधान सेनापतिले आफ्नो जीवनको अमूल्य समय नेपाली सेनामा रही देश र जनताको सेवामा समर्पित गर्नु हुने सम्पूर्ण अवकाश प्राप्त सैनिकहरूप्रति सम्मान प्रकट गरे।
उनले राष्ट्रभक्ति, मातृभूमिप्रतिको समर्पण, त्याग, जिम्मेवारी बोध तथा अनुशासित एवं अनुभवी अवकाश प्राप्त सैनिकहरू आफैँमा राष्ट्र निर्माणको बलियो आधार रहेको बताउनु हुँदै भावी पुस्तालाई प्रेरणा, सकारात्मक र आशावादी सोच सहित राष्ट्र निर्माण, विकास र समृद्धितर्फ अग्रसर गराउन समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न आग्रह गरे।
प्रधान सेनापतिले कल्याणकारी कोषको मितव्ययी र पारदर्शी प्रयोगबाट कोषको दिगोपन तथा सेवा सुविधाहरूलाई निरन्तरता दिई थप व्यवस्थित गर्ने योजना भई रहेको बताउदै श्रोतहरूको सीमितताका बाबजुद हिताधिकारीहरुबाट प्राप्त राय सुझावलाई चरणबद्ध रूपमा सम्बोधन गर्दै लैजाने जानकारी गराए।
सम्मेलनमा कञ्चनपुर निवासी ९५ (पन्चानब्बे) वर्षीय हुद्धा खङ्ग बहादुर लुईटेल (अ.प्रा.) र स्वर्गीय प्युठ परमानन्द जोशी (अ.प्रा.) की कैलाली निवासी ८७ (सतासी) वर्षीय श्रीमती पशुपतिदेबीलाई सम्मान गरिएको थियो। यस्तै, सर्वोत्कृष्ट/उत्कृष्ट उद्यमी/व्यवसायीहरू हुद्दा गणेश बुढामगर (अ.प्रा.) की श्रीमती कलावती बुढामगर र एकल महिला श्रीमती बिमला श्रेष्ठ पाण्डेलाई प्रशंसा-पत्र एवं पुरस्कार वितरण गरिएको थियो।
सोही क्रममा चार वा सो भन्दा बढी सन्ततिहरू नेपाली सेनामा रहेका २ (दुई) जना अभिभावकहरूलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त १० (दश) जनालाई व्हिल चेयर, बैसाखी तथा आर्थिक सहयोग वितरण गरिएको थियो।
त्यसैगरी, कल्याणकारी कार्यक्रमहरू मार्फत भूतपूर्व सैनिकहरू, आश्रित परिवार एवं बहालवाला सैनिक परिवारजनलाई स्वरोजगार बनाई आर्थिक रूपले आत्मनिर्भर र स्वावलम्बी बनाउन नेपाली सेना कल्याणकारी बोर्डले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कसँगको सहकार्यमा सञ्चालन गर्दै आएको सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तरगत ६(छ) जना उद्यमी व्यवसायीहरूलाई उद्यमशील कर्जाको चेक हस्तान्तरण गरिएको थियो।
सम्मेलनमा नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी श्री गौरव तण्डुल (अ.प्रा.) ले स्वागत मन्तव्य तथा सुदूर पश्चिम पृतनाका पृतनापति उपरथी प्रकाश देउजाले धन्यबाद मन्तव्य राख्नुभएको थियो।
समारोहमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, रक्षा मन्त्रालयका प्रतिनिधि, कल्याणकारी कोष व्यवस्थापन समितिका पदाधिकारीहरू, अन्य सुरक्षा निकायका पदाधिकारीहरू, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारहरूका साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
त्यस अवसरमा भू.पू. सैनिकहरूको तर्फबाट मार्चपाष्ट लगायत विविध सांस्कृतिक झाँकी र सैनिक ब्यान्डको प्रस्तुति गरिएको थियो ।
यस वर्षको भूतपूर्व सैनिक सम्मेलनको दोस्रो चरण मिति २०८१ चैत्र ८ गते सुर्खेत स्थित उत्तर पश्चिम पृतना हे.क्वा. लगायत कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा समेत आयोजना हुने कार्यक्रम रहेको छ ।
महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७
प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर) Email: mahendranagarpost@gmail.com