बैतडी : बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा ट्रमा सेन्टरको भवन निर्माण भएको भएपनि सञ्चालनमा आउन सकेको छैन। चार वर्षअघि संघीय सरकारले खोड्पेमा ट्रमा सेन्टर निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
दार्चुला, बैतडी र बझाङको समेत केन्द्र रहेको खोड्पेमा सडक दुर्घटनाका घाइते तथा अन्य विपद्मा परेर घाइते भएकाहरुको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको हो। भवन निर्माण भएको एक वर्ष बितिसक्दा समेत आवश्यक उपकरण र जनशक्तिको अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन।
संघीय सरकारको ५० लाख र नगरपालिकाको १० लाख गरेर ६० लाखको लागतमा भवन निर्माण गरिएको भएपनि आवश्यक उपकरण र जनशक्तिको अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको पाटन नगरपालिका -८ का वडा अध्यक्ष हरिश बिष्टले बताए।
ट्रमा सेन्टरको भवन निर्माण भएको भएपनि सञ्चालनमा भने आउन नसकेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। ट्रमा सेन्टर कसले सञ्चालन गर्ने भन्ने विषयमा समेत अन्यौल रहेको उनले बताए। संघ र प्रदेश सरकारलाई बारम्बार जनशक्ति र उपकरणका लागि आग्रह गरेको भएपनि सुनुवाई हुन नसकेको उनले बताए।
ट्रमा सेन्टर कसले सञ्चालन गर्ने र कसको मातहत रहने स्पष्ट नभएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। संघीय सरकारको लगानीमा भवन निर्माण भएको र अहिले आधारभूत स्वास्थ्य सेवा स्थानीय सरकार मातहत रहेकाले कसले सञ्चालन गर्ने भन्ने बिषय स्पष्ट भइनसकेको उनले बताए।