काठमाडौं : सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यस्तो निर्णय भएको जानकारी दिइन् ।
‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्ने भन्ने निर्णय भएको छ । यस अनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कम हुने भन्ने छ,’ उनले भनिन् ।
शर्माले प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती भएको बताइन् । प्रधानमन्त्रीले एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाबाट सुरु गर्ने भनेको र सोही अनुसार भएको उनले बताइन ।
त्यस्तै आजको बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ बनाउने निर्णय गरेको छ भने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सदस्यसचिवमा महेश भट्टराईलाई नियुक्त सहित अन्य विभिन्न निर्णयहरु गरेको छ ।