काठमाडौं- जाजरकोटकी द्रोपती(नाम परिवर्तन) अहिले मानसिक तनावमा छिन्। सर्वस्व सुम्पिएका आफ्नौ प्रेमीले धोका दिएर बेइज्जत गरेको घटना अहिले पनि उनले बिर्सन सकेकी छैनन्।
उल्टै ती प्रेमी भनिएका भुपेन्द्र ठगुन्नाको परिवाबाट धम्की त गाली खाइरहेको उनी सुनाउँछिन्। टिकटकमार्फत परिचय भएका भुपेन्द्र नेपाल प्रहरीमा कार्यरत थिए। त्यो बेला सर्वोच्च अदालतमा काम गर्ने भुपेन्द्रको घर बैतडी भएको द्रोपतीले बताइन्। टिकटक हुँदै विभिन्न संजालमार्फत मायाजालमा फसेकी उनलाई भुपेन्द्रले गत वर्षको मंसिर १५ गते काठमाडौं बोलाए।
बागबजारमा रहेको साथीको कोठामा बस्दै आएकी उनलाई भेट्न भुपेन्द्र आइरहन्थे। त्यो ३ महिनाको बसाईका दौरान उनीहरुबीच धेरैपटक शारीरिक सम्बन्ध स्थापना भएको थियो। उनले भनिन्, ‘विवाहको प्रलोभन दिँदै उसले निरन्तर शारीरिक सम्बन्ध राख्यो।’
द्रोपती गर्भवती भएपछि उनलाई भुपेन्द्रले गाउँ पठाए। तर ३ महिनाको गर्भ तुहियो। ‘तर उहाँ भेट्न आउनु भएन । पछि १५ दिनको बिदा लिएर नयाँ वर्षको दिन (वैशाख १ गते) उहाँ सुर्खेत आइपुग्नुभयो। म त्योबेला बिरेन्द्रनगरको कालिन्चोक नजिकै कोठा भाडामा बस्थे। उहाँ मसङ्ग २ दिन कोठामा बसेर बैतडी जानुभयो’ उनले भनिन्।
त्योबेला पनि द्रोपती गर्भवती बनिन्। तर भुपेन्द्रले वास्ता गर्न छाडे। बिहेको सपना देखाएर गर्भ बोकाउनेले फोनै उठाउन छाडेपछि द्रोपतीले भूपेन्द्रविरुद्ध मंसिर १५ गते जाहेरी लिएर प्रहरी कार्यालय सुर्खेत पुगिन्। तर प्रहरीले आफ्नै कर्मचारीविरुद्ध आएको जाहेरी लिन मानेन्। प्रहरीले जाहेरी दर्ता नगरेपछि उनी जिल्ला सरकारी वकिल कार्यालय पुगिन्। दुई दिनपछि सरकारी वकिल कार्यालयले जाहेरी दर्ता गर्नुभन्दै प्रहरीलाई पत्र पठायो।
प्रहरीले सरकारी वकिल कार्यालयको पनि पत्रलाई अवज्ञा गर्यो। त्यसपछि उनी मंसिर ३० गते राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय सुर्खेत पुगिन्। आयोगले जिल्ला प्रहरी कार्यालयलाई तत्काल मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दियो।
त्यसपछि मात्रै मुद्दा अदालत पुगेको थियो। तर उनले जिल्ला अदालतमा थुनछेक बहस भइरहेका बेला बीस सेवन गरिन्। ‘जिल्ला सरकारी कार्यालयका प्रमुख नवीन भट्ट आफैले बहस गरिरहेका थिए। उहाँले न्यायाधीश समक्ष मेरो पक्षमा भन्दा पीडकलाई सहज हुने गरेर बहस गर्नुभयो,’ उनले भनिन्, ‘मसँग भएका प्रमाण अदालतमा नदिएको पाएपछि बाध्य भएर तरकारीमा प्रयोग हुने विषादी खाए।’
भूपेन्द्रले पनि न्यायाधीशकै अघि गालीबेइज्जी गरे। अदालतले पनि भूपेन्द्रलाई धरौटीमा छोड्ने निर्णय सुनायो। त्यसपछि द्रोपतीले अदालत परिसरभित्रै विष सेवन गरेकी थिइन्। उपचारपछि उनी निको त भइन् तर अन्याय भएको रोग पाल्नुपरेको उनको गुनासो छ।