धनगढी : आज राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन–प्याबसन) कैलालीको ९ औं जिल्ला अधिवेशन हुँदैछ। एन–प्यावसन कैलालीले हिजो (शुक्रवार) धनगढीमा पत्रकार सम्मेलन गर्दै गोदावरी नगरपालिकाको गोदावरीमा रहेको ग्रीन गोदवारी रिसोर्टमा अधिवेशन गर्ने जानकारी दिएको हो।
एन–प्याब्सनका कैलाली जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद चापागाईले जिल्ला सम्मेलनको सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले समुद्घाटन गर्ने जानकारी दिए। उनले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्।
शनिवार सुरुमा उद्घाटन सत्र, त्यसपछि बन्द सत्र र अन्त्यमा विद्यालयहरुले भोग्नु परेका समस्याबारे छलफल गरी निष्कर्ष निकालिने एन– प्याब्सन कैलालीले जनाएको छ।
एन–प्याब्सनले संघीय सरकारले बनाउन लागेको शिक्षा ऐन, स्थानीय तहबाट भोग्नुपरेका विभिन्न समस्याबारे अधिवेशनमा छलफल गरिने जनाएको छ। एन–प्याब्सनका केन्द्रीय सचिव धर्मराज रेग्मीले वर्तमान समय सुहाउँदो शिक्षा ऐन ल्याउन जरुरी रहेको बताएका छन्।