काठमाडौं : कार्यान्वयनको लागि अधिकार माग्दै मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्। आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले नौ बुँदे निर्णय बुझाउँदै ध्यानाकर्षण समेत गराएका हुन्।
हिजो मकवानपुरको हेटौँडामा भएको मुख्यमन्त्रीहरुको भेलाले गरेको निर्णयअनुसार सङ्घीयता कार्यान्वयन र संविधानमा प्रदत्त अधिकार प्रदेश सरकारलाई दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी भेटमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई साझा अवधारणापत्र बुझाएका हुन्। पहिले पोखरामा भएको निर्णय पनि कार्यान्वयन नभएको र अहिलेको यो नौ बुँदे साझा अवधारणापत्रलाई त्यसैगरी बेवास्ता नगर्न पनि उनीहरुले भनेका छन्।
हिजो हेटौँडा भेला सकेलगत्तै मुख्यमन्त्रीहरु काठमाण्डौ आएका थिए। सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार गम्भीर नभएको भन्दै अब पनि बेवास्ता गरेमा सङ्घर्षमा जाने चेतावनी दिएका छन्।
मुख्यमन्त्रीहरुले प्रहरी समायोजन, सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन्।
प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्न, साझा अधिकारका विषयका कानुन निर्माणमा सहकार्य गर्न, राष्ट्रिय वनलगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँट, वित्तीय हस्तान्तरणलगायतका माग राखेका छन्।