धनगढी : ट्रकको ठक्करबाट सुदूरपश्चिमका उसु खेलाडी निता खड्काको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १८ वर्षीया निता खड्का आज मृत्यु भएको हो।
मकवानपुरको हेटौडामा सम्पन्न प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गरेको सुदूरपश्चिमका उसु खेलाडीहरुको गाडीलाई आज बिहान ट्रकले ठक्कर दिएको थियो।
कपिलवस्तुको चन्द्रौटाबाट करीव १५ किमी पश्चिम स्थित चोरखोलामा राति एक बजे उसु खेलाडीहरु चढेको सुप यातायात सुप यातायातको ३३९२ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट घाइते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो। जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
उक्त गाडीमा नितासँगै ११ जना सवार थिए। अन्य खेलाडी घाइते भएका छन्। उसु खेलाडी पुष्पा कुवँरको हात भाँचिएको प्रहरीले जनाएको छ।
उसुका राष्ट्रिय रेफ्रि राजिव गुप्ताले हेटौडामा सम्पन्न अन्तर प्रदेश उसु प्रतियोगितामा खड्काले स्वर्ण पदक जितेको बताए।