धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकास्थित एक सडक कालोपत्र गरेको ६ दिनमै घाँस उम्रिएको छ।
निर्माण कम्पनीको बदमासी र नगरपालिकाको बेवास्ताका कारण अघिअघि सडकमा कालोपत्रेको काम हुँदैछ भने पछि कालोपत्र माथि घाँस उम्रिन थालेको हो।
लम्की चुहा नगरपालिका ३ स्थित व्यवस्थित नगरमा कालोपत्र गरेको ६ दिनमै घाँस उम्रेपछि कालोपत्रको काम कमसल भएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन्।
घरै अगाडिको सडक कालोपत्र भएपछि स्थानीय हरि भण्डारी खुसी भएका थिए। तर उनको खुसी छ दिनमै निराशामा बदलियो। विकासको नाममा आँखामा छारो हाल्ने काम मात्रै भएको भन्दै भण्डारीले आक्रोश पोखे।
त्यस्तै अर्का स्थानीय खगेन्द्र प्रसाद बजगाईँले नयाँ कालोपत्र सडकमा घाँस उम्रेपछि र केही ठाउँमा बेसो ग्राबेल नै निस्कन थालेपछि ठेकेदार, जनप्रतिनिधिलाई जानकारी गराएको तर कसैले सुनुवाइ नगरेको बताए।
डेढ वर्षअघि लम्की चुहा नगरपालिकाका र सुलभ एण्ड सुस्मिता कन्ट्रक्सनबिच ६० लाखमा १२ सय मिटर सडक कालोपत्रको लागि ठेक्का सम्झौता भएको थियो।
काम समेत समयमा पुरा नगरेको ठेकेदारले ढिला गरेको काममा पनि बदमासी गरेको स्थानीयको भनाइ छ।
नगरपालिका ३ का वडाध्यक्ष तथा नगर प्रवक्ता लव बहादुर शाहीले गरिएको कालोपत्र आफूले केही दिनअघि मात्रै अनुगमन गरेको बताए। त्यसैबेला मापदण्ड अनुसार नै काम गर्न निर्माण कम्पनीलाई भनेको बताए।
तर कालोपत्रमाथि घाँस आएको जानकारी पाएपछि ठेकेदारलाई तत्काल काम रोक्न भनेको उनले बताए। कालोपत्र कमसल भएको छ वा मापदण्ड र सम्झौता अनुसार काम भएको छैन भने ठेकेदारको भुक्तानी रोक्ने उनले बताएका छन्।
यसैबिच सुलभ एण्ड सुस्मिता कन्ट्रक्सनका दर्शन खड्काले केही स्थानमा समस्या आएको स्वीकार गरे। कालोपत्र गरेको अन्य स्थानमा राम्रो रहेको जिकिर गर्दै उनले केही स्थानमा मानवीय त्रुटिका कारण बिग्रेको हुनसक्ने भएकाले तत्काल सुधार गर्ने बताए।