काठमाडौं– काठमाडौंस्थित भन्सार जाँचपास परीक्षण कार्यालय तिनकुनेका एक नायब सुब्बाले १ करोड ८७ लाखभन्दा धेरै गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको छ ।
निलम्बित नायब सुब्बा देवीबहादुर थापाले १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारले सोमबार विशेष अदालतमा थापाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार २०५६ सालदेखि पदमा रहेका थापा र उनका परिवारले पनि २०७५ सालसम्मको अवधिमा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पाइएको थियो ।
थापाले आफ्नो हैसियत भन्दा बढी रकमले आफू, बाबु, आमा र श्रीमतीको नाममा घरजग्ग खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरेका थिए । त्यसका साथै उनले परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा एवं लगानीसमेत गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अख्तियारले उनीसँग गैरकानुनी सम्पत्तिबराबरको बिगो र कानुनअनुसार कारबाहीको माग राख्दै मुद्दा दायर गरेको हो ।
त्यस्तै गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी निजको बाबु कृष्ण बहादुर थापा, आमा चन्द्र माया र श्रीमती विमसा राउतको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको छ ।