काठमाडाैं : दुई युवाको ज्यान जाने गरी गएको शुक्रवार ललितपुरको बालकुमारीमा भएकाे घटनाकाे अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ।
बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हो। आयोगको सदस्यमा पूर्व एआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन्।
आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए। उनका अनुसार आयोगले आजैदेखि काम थाल्नेछ।
आयोगलाई घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको लागि सिफारिस गर्ने अधिकार दिइएको पनि उनले बताए।
यसअघि गृहमन्त्रालयले घटना भएकै दिन शुक्रवार नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। तर समितिमा पीडित पक्षको प्रतिनिधित्व नभएको भन्दै मृतकका परिवारले प्रधानमन्त्रीलाई भेटेरै न्यायिक आयोग गठनको माग गरेका थिए।