धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक अनौठो निर्णय गरेको छ। मेयर हेमराज ओझाको अध्यक्षतामा बसेको नगरसभा बैठकले सो निर्णय गरेको हो।
निर्णय के भन्दा, काज र समायोजन भएर आएका आधा दर्जन बढी स्थायी कर्मचारीलाई फिर्ता पठाउने। उक्त निर्णयमा भनिएको छ, ‘विगतका वर्षहरुमा यस नगरपालिकामा विभिन्न स्थानीय तह/ निकायबाट कामकाजमा खटिई यस कार्यालयमा हाजिर भई कामकार गरि रहेका सब-इन्जिनियर र असिस्टेन्ट सब ईन्जिनियरहरुलाई नगरपालिकाको आवश्यकता भन्दा बढीलाई २०८० पौष मसान्तसम्म यस कार्यालयमा रहने त्यसपछि सम्बन्धित तह/निकायहरुमा फिर्ता पठाउने निर्णय गरियो।’
सो निर्णयपछि सो नगरबाट ९ जना कर्मचारीलाई फिर्ता मन्त्रालय पठाउने तयारी भइरहेको बुझिएको छ। जसका लागि पत्र तयार भइरहेको बताइएको छ।
उता कर्मचारीहरु भने यो निर्णयविरुद्ध एकजुट भएका छन्। उनीहरुले मेयरले मनलाग्दी गर्न खोज्दा रोकेकोले आफूहरुलाई खेद्न खोजेको आरोप लगाएका हुन्। आफ्ना मान्छेलाई करार भर्ना गर्न र काजमा ल्याउन मेयरले विवादास्पद निर्णय गरेको उनीहरुको भनाई छ। तर उता मेयर हेमराज ओझाले भने नगरपालिकामा काजमा आएकालाई मात्र फिर्ता पठाउन लागिएको जानकारी दिए।
उनका अनुसार नगरपालिकाको आर्थिक बोझ कम गर्नका लागि नगरसभाले नै यस्तो निर्णय गरेको हो।
एक वडा एक प्राविधिक भन्ने सरकारको अवधारणा भएपनि आवश्यक नभएको भन्दै नगरपालिकाले दरबन्दी भएका कर्मचारीलाई नै खेद्न खोजिरहेको हो।
केही समय अगाडिमात्रै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि कर्मचारीलाई कानुन प्रतिकुल हुने गरि फिर्ता नपठाउन सबै स्थानीय तहलाइ निर्देशन गरेको थियो। तर कृष्णपुरले सो पत्रको धज्जी उडाएर निर्णय गरेको बताइन्छ।