प्रिय एन्ड्रियाना!
म सदाको लागि द्रागास छोडर हिँड्दै थिएँ। मन भारी थियो, आँसुमा चुर्लुम्म डुबेको थिएँ। यकिन साथ भन्न सक्दिनँ त्यति बेला तिम्रो हालत कस्तो थियो? तर साँच्चि एन्ड्री! मलाई भने सासै रोकिएलाजस्तो, धड्कन नै बन्द हुन खोजेजस्तो! उधुम सकस भएको थियो।
के भनेर हिँडौं तिमीलाई भन्ने उस्तै दुविधामा थिएँ र पनि तिम्रो घर अगाडि निकै बेरसम्म उभिएको थिएँ, सायद त्यस्तै मनोदशामा थियौ तिमी पनि कि?
खोइ ! ….तर तिमी एक शब्द पनि बोल्न सकेकी थिइनौ। निमेषभर आँखाहरू जुधेका थिए। गह टिलपिलाएका थिए। तर तिमी एक्कासि फरक्क फर्कियौ। दौडिएर घरभित्र पस्यौ। ड्याम्म ढोका लगायौ। त्यो आवाजले झण्डै मुटु फुटेको थिएन। चुपचाप सहेँ, निकैबेरसम्म त्यहीँ उभिएँ र तिम्रै बार्दलीतिर नजर बिछ्याइरहें। अन्तिम पटक मायालु अनुहार हेरेर कोशोभो छोड्ने धोको थियो तर त्यो अधुरै रहन गयो। त्यसपछि तिमीसँग कहिले नभेटिने असीम पीडाले मर्माहत हुँदै बाटो लागेँ।
आज १५ वर्ष पुगेछ एन्ड्रियाना! आजकै दिन त हो नि मैले तिम्रो देशबाट व्याकुल मन लिएर बाटो लागेको। द्रागासका हिउँले खाएका बुट्ट्यान,पथ्थरिला फाँट र नागबेली सडकलाई आँसुले पखाल्दै हिँडेको।
तिमीलाई थाहा छ? प्रिस्टिनाबाट म चढेको जहाज अष्ट्रियाको भियनामा अवतरण गर्यो। त्यसपछि मात्र मेरो स्मृतिमा आफ्नो देशका धमिला आकृतिहरू सलबलाउन थालेका थिए। त्यतिबेला सक्ने भए म काठमाडौं होइन, फेरि तिम्रै देश कोशोभोकै लागि नै उड्ने थिए।
प्रिस्टिनाका भव्यतामा एकपल पनि भुल्ने थिइनँ। कतै केही नहेरी द्रागास पुगेर तिमीलाई भेट्ने थिएँ। तर, आज अचम्म लाग्छ, किन फेरि तिम्रो देशमा फर्किन चाहन्थें होला म ? फर्किन पाएको भए पनि के भन्थेँ होला तिमीलाई?
प्रिय एन्ड्रियाना!
समयले निकै लामो फड्को मारिसकेको छ। अझै पनि एक्लै हुँदा तिम्रा सम्झनाहरू उर्लिएर आउँछन् र व्याकुल बनाउँछन्। आकाशको बादल जस्तै गरी मन उडछ् र गहिरो पीडाका साथ अनुभूति गराउँछ– मानिसलाई आफ्नै भावनाले जति अरू केले गलाउँदो रहेछ !
त्यतिबेला काठमाडौंको लागि उड्नुको विकल्प थिएन! म भियनाबाट उडेँ। तिम्रो सामिप्यता र भूगोलबाट टाढिँदै गएँ। तर तिम्रा यादहरूबाट एकपल पनि भाग्न सकिनँ। लखेटिँदै गए, तिम्रै यादहरूमा पछारिँदै गएँ।
तिमीलाई सम्झना छ? हाम्रो पहिलो भेट कसरी भएको थियो? त्यो शिशिरको एउटा विरह लाग्दो दिन थियो, सिमसिम पानी सँगै हिउँ पनि पर्दै थियो। म डेरा खोज्दै तिम्रै घरमा पुगेको थिएँ। त्यही दिन हामी पहिलो पटक भेटिएका थियौं।
पहिलो भेटमा हाम्रो बोलचाल त भएन तर मैले तिम्रो आँखाको कौतुहलता राम्रोसँग पढेको थिएँ र म गजबले उत्साहित भएको थिएँ।
कस्तो संयोग!
त्यसको ठीक दुई वर्षपछि जब म तिम्रो देश छोड्दै थिएँ, त्यसबेलाको पनि मौसम उस्तै थियो। तर त्यो दिन तिमी र तिम्रा बाआमाका आँखा पनि टिलपिलाएका थिए। थाहा छैन किन, म पनि व्याकुल थिएँ। घर फर्किने कुराको पनि उत्साह थिएन।
प्रिय एन्ड्रियाना!
समय पाउँदा म अचेल त्यही अतितमा फिँजारिन्छु। भावुक हुन्छु र सोच्दछु, आखिर समय होइन, संयोगहरू पो रहेछन् त मानिसका सुख, दुःख, हाँसो, खुसीहरू!
जहाज उड्दै गयो। मन सम्हालिएन। चार पेग जति ह्वाइट वाइन पिएँ। शरीर शिथिल हुँदै गयो तर तिखारिँदै गएका काँडा जस्ता सम्झनाले घोच्न थाले। सम्झें, एक दिन तिमीले कोशोभो युद्धका बर्बरताका कुरा गरेकी थियौ। तिम्रा साथीहरूको बलात्कार पछिको नृशंस हत्याको बारेमा बताएकी थियौ। मध्यरातमा तिम्रो जुम्ल्याहा भाइलाई घरबाट निकालेर गोली ठोकिएको कथा पनि सुनाएकी थियौ। बोल्दाबोल्दै तिमी भक्कानिएकी थियौ। मैले पनि रोल्पाको एम्बुसले खाएको प्रिय दाजुलाई सम्झेको थिएँ। तिम्रै उमेरकी साधना भाउजूको विधवा जीवनको कल्पनाले मन कुँडिएको थियो। टुहुरो बालक छोरा सुशीलको नियतिले आहत बनाएको थियो।
हेर त एन्ड्री, यो अर्को कस्तो संयोग? हामी बाँचेका भूगोल फरक मात्र थिए तर सहेका युद्धका पीडाहरू उस्तै थिए। कारणहरू फरक थिए तर असर र क्षति उस्तै विभत्स, अपुरणीय। आखिर जहाँ भएको भए पनि युद्ध जति निर्मम अरू के हुँदो रहेछ र!
प्रिय एन्ड्रियाना!
त्यो गुड फाइडेको मधुर साँझ थियो। तर तिमी यसरी रोयौ कि न मैले तिमीलाई सम्हाल्न सकें न आफूलाई नै। बोझिलो मन लिएर तिम्रो रेष्टुरेन्टबाट बाहिरिएँ। साँच्चै एन्ड्रु ! त्यस पछिका कयौं रातसम्म पनि मलाई पटक्कै निन्द्रा लागेन। बुझ्नै सकिनँ, त्यसबेला मलाई दाजुको अकाल मृत्युको घाउ बढी दुखेको थियो कि तिम्रा आँसुले विक्षिप्त बनाएका थिए! त्यसदिन आफ्नै मनको पीडालाई म आफैंले चिन्न सकिनँ!
रातिको समय थियो। जहाज जर्जियामाथि उड्दै थियो। झ्यालबाट तलतिर हेरेँ। जमिनमा अनगिन्ती बत्तीहरू पिलपिलाउँदै थिए। माथिबाट हेर्दा ती मिर्मिरे ताराहरू जस्तै देखिन्थे। केहीबेर आफ्नै भ्रमित चेतनामा रंगबंगिएँ। फेरि मन बतासियो र पुनः तिम्रै द्रागसमै पुगेँ। सम्झेँ, एक दिन तिमीले सर्बियन कवि भास्को पोपा, मिलेना मार्कोभिचका कविताहरू कनि कुथि अंग्रेजीमा उल्था गरेर सुनाएकी थियौ। त्यो दिन तिमीले यो धरतीमुनि अर्को पनि आकाश छ भनेकी थियौ। त्यतिबेला त मलाई ‘वाहियात’ लागेको थियो तर माथि जहाजबाट देखिएको जमिनको दृष्यले हो कि भन्ने पनि अनुभूति गरायो। जहाज बम्पिङ गर्दै थियो। साथीहरूका चेहरा अमिलिँदै थिए तर मलाई भने केही पनि मतलब थिएन, म तिम्रै सम्झनाको नदीमा बग्दै थिएँ।
आँखा चिम्लेँ, तिम्रो बुढा बाको चाउरी परेको चेहरा याद आयो। उनी अक्सर कोशोभो युद्धका कुरा गर्थे। आफ्नो अल्पसंख्यक समुदायको सफायाका दर्दनाक घटनाहरू सम्झेर दुःखी हुन्थे। अधिकांश युवा बर्बरतापूर्वक मारिएका कुरा गर्दै रून्थे। कहिलेकाहीँ त तिमीले ब्वाइफ्रेन्ड बनाउने केटा नपाउने कुराको पनि चिन्ता व्यक्त गर्थे। म सोच्थेँ, बुढाले के नचाहिँदो चिन्ता गरेको होला? तर एक दिन जब तिमीले तिम्रो ब्वाइफ्रेन्डको तिम्रै आँखा अगाडि घाँटी रेटिएको विभत्स कथा सुनायौ, म निकै दिनसम्म स्तब्ध भएँ। त्यसपछि मलाई तिम्रो औधि माया लाग्न थाल्यो। र विस्तारै म तिम्रो विवाह र ब्वाइफ्रेन्डको कुरै सुन्ने नसक्ने हुँदै गएँ।
जहाज अफगानिस्तान माथि उड्दै थियो। तर म त्यही बिन्दुमै अडिएको थिएँ, जहाजबाट हाम्रा बाटाहरू छट्टिएका थिए। दुई वर्षपछि हामी स्वदेश फर्किंदै थियौं। साथीहरू ज्यादै नै उल्लासित थिए। कोशोभो हुँदा केहीले हामीलाई यदाकदा क्याफेमा देखेका थिए। उनीहरूले मलाई जिस्क्याउँदै भने- ‘फर्किउ यार कोशोभो तिरै!’ म खिस्स भावहीन हाँसो हाँसेको थिएँ।
उनीहरूले मेरो निकै खिल्ली उडाए।
प्रिय एन्ड्री! त्यतिबेला मलाई थाहा थिएन, नेपाल पुगे पछिका दिनहरू कस्ता हुनेछन् र तिमी बिनाको जीवन यात्रा कस्तो हुनेछ? तर,परिस्थितिको सामना गर्नुको कुनै विकल्प थिएन। जसरी भए पनि अगाडि बढ्दै जानु थियो। फेरि वाइन थपेँ। नशामा चुर्लुम्म डुबेँ र गहिरो निन्द्रामा परेँ।
तर, थाहा छ एन्ड्रियाना?
तिमीले मलाई निन्द्रामा पनि छोडिनौ। सपनामा मुस्कुराउँदै आयौ, तिम्रै देशको स्वीट चेरी जस्तो मनमोहक अधर, फक्रेको जस्मिन जस्तो मुहार र एड्रियाटिक सागरको पानी जस्तो नीलो आँखा लिएर। हामी मोन्टेनिग्रोको लुस्टिकाको कारासिस बीचमा गयौं। किनारामा उभिएर केहीबेर प्रकृतिको त्यो सुन्दर चेहरालाई सुमसुम्यायौं। दुबै जना किनारामा बस्यौं, म तिम्रो मोहिनी रूपमा लट्ठ परें। तिमीले अन्जुलीमा सागरको कञ्चन पानी उठायौ र मेरो अनुहारमा छ्यापिदियौ। म किंकर्व्यविमुढ भएर तिमीलाई हेरिरहें।
समुन्द्रमा छालहरू उर्लिरहे। मनका तरंगहरू बेलगाम हुँदै गए। तिमी पानी छछल्काउँदै दौडियौ र मैले तिमीलाई क्यामेरामा समेट्दै गएँ। हेर्दाहेर्दै तिमी क्यामेराको लेन्सबाट हरायौ। म व्याकुल भएँ। तातो बालुवामा तिमी गएतिरै दौडिएँ। समुन्द्री तटमा कीरासरी मानिसहरू थिए। तिमी त्यही भीडमा हरायौ। म चिच्याएँ, कराएँ, शायद रोएँ पनि तर तिमीले पटक्कै सुनिनौ। म थाकें। हारें। विचलित भएर भौतारिँदै गएँ । तर तिमी कतै पनि भेटिएनौ।
थाहा छ एन्ड्री? त्यो त मेरो कहिल्यै पूरा नहुने सपना पो रहेछ! विपनामा त म भियानाबाट उडेको जहाजमै छटपटाउँदै रहेछु।
विमान काठमाडौं एयरपोर्टमा ल्याण्ड गर्यो। म झसंग भएर ब्युँझिएँ। निन्द्रा टुट्यो, सपना टुट्यो र कल्पना टुट्यो। म काठमाडौं विमानस्थलमा ओर्लिएँ। आँखाभरी आँसु थिए। सुटुक्क पुछेँ। अगाडि बढेँ। आफन्तहरू मेरो प्रतीक्षामा एराइभल कक्षमा थिएँ। उनीहरूको आँखा पनि मेराजस्तै जलमग्न थिए। मलाई त्यो आँसुको अर्थ बुझ्न गारो भएन तर मेरो आँसुले भने उनीहरूलाई नराम्रोसँग झुक्यायो। म ओइलिएको मन लिएर उनीहरूको खुसीमा सामेल भएँ। हामी बाहिर आएर ट्याक्सी चढ्यौं। ट्याक्सी अगाडि बढ्यो। मैले टाढैबाट आरध्य देव पशुपतिनाथको दर्शन पाएँ। जीवनलाई पुरानै लयमा फर्काइ दिन प्रार्थना गरें। र समयसँग आत्मसमर्पण गरेँ।
प्रिय एन्ड्री!
भूगोलसँगै मानिसका चेतना, सोच र दृष्टिकोण पनि फरक हुँदा रहेछन्! तिमी अल्पसंख्यक सर्वियन युवती थियौ, आफ्नै देशमा शरणार्थी भएर बाँचेकी थियौ। तिम्रो मनमा युद्धको गहिरो आतंक थियो। तिमीलाई कसरी जीवन सुरक्षित रहन सक्छ भन्ने मात्र चिन्ता थियो र हामी त्यहाँ अन्तर्राष्ट्रिय शान्तिकर्मी भएर गएका थियौं। तिमी बाँच्ने आशले हामीसँग नजिकिन्थ्यौ, हाँस्थ्यौ र खेल्थ्यौ। हामी तिम्रो त्यो जीवन मोहलाई अनुराग,आशक्ति र आग्रह ठान्दा रहेछौं।
स्वाभाविक आत्मीयतालाई गलत अर्थमा बुझ्दा रहेछौं र आफ्नै मृगतृष्णा, तिर्सना र कल्पनाले गल्दा रहेछौं। यहाँ फर्केपछि विस्तारै मलाई त्यो कुराको बोध हुँदै गयो। कता कता आफ्नै भावनाहरू पनि त्यस्तै थिए कि भन्ने कुराले पोल्न थाल्यो। आत्मग्लानि सताउन थाल्यो। तर यति हुँदा पनि तिमीप्रतिको प्रेम र सम्मान भने कहिल्यै पनि कम भएन।
प्रिय एन्ड्रियाना!
पन्ध्र वटा युगभन्दा लामा पन्ध्र वर्षहरू बितेछन्! यसबीचमा तिमी उतै हरायौ, मलाई पनि जिन्दगीले यतै व्यस्त बनायो। दिनहरू बितिरहेका थिए। आज अकस्मात तिमीलाई इन्स्टाग्राममा देखेँ। सुरूमा त विश्वासै लागेन। विस्तारै तस्वीरले खिच्दै लग्यो। उत्साहित भएर हेर्दै गएँ। यतिका वर्षपछि पनि तिम्रो अनुहारको निश्छलता र सुन्दरता उस्तै थियो। गहिरिएर हेर्दै गएँ। एक जना ह्याण्डसम सर्बियन केटा फूलको गुच्छा बोकेर तिम्रो नजिकै उभिएका थिए। साथमा एउटा सुन्दर बालक पनि थियो। ऊ प्रसन्न मुद्रामा तिमीले केक काटेको हेर्दै थियो। तिमीले ‘क्याप्सन’ लेखेकी थियौ ‘अ व्युटिफुल डिकेड अफ म्यारिचुयल जर्नी’ त्यो पढेर मेरो खुसीको सिमाना रहेन।
प्रिय एन्ड्रियाना!
अहिलेसम्म डेढ दशक बितिसकेछ, फेरि इन्स्टाग्राम हुँदै तिम्रै देशमा पुगेको छु। तिमीसँग छुट्टिने बेलाको त्यो कठिन पलको जस्तै गरी भावुक भएको छु। आज तिम्रो तस्वीरमा देखेँ, एकछिन अनुभूतिशून्य भएँ र फेरि चेतना जुर्मुरायो, निकैबेरसम्म त्यो पोष्ट हेरिरहें, अनयास आँखाहरू टिलपिलाउँदै गए र मनको गहिराइबाट अनुभूत गरेँ, मेरो भावना र चाहनाको उत्कर्ष तिम्रै खुसी नै त रहेछ नि!… आखिर प्रेम भनेको पनि यस्तै होइन र एन्ड्रियाना!
लाख कोसिस गरेँ तर आज आफूलाई रोक्न सकिनँ। हिजो तिम्रो देशमा तिमीसँगै हुँदा भावनाहरू व्यक्त गर्ने शब्द खोज्दाखोज्दै नभेटेका र आज भन्छु, भोलि भन्छु भन्दा भन्दै फर्किने दिनसम्म पनि भन्न नसकेका कति अनुभूतिहरू मनमै गाँठो परेका थिए।
आज ती सबै सुर्कौनीहरू फुकाएको छु। आफ्नो हृदयको आवाज यही इन्स्टाबाट पठाएको छु। मलाई थाहा छ, यो लामो म्यासेज पढेपछि केहीबेर तिमी पनि भावुक हुनेछौ। तर, प्रियसी एन्ड्रियाना ! यसपछि तिम्रो मनमा कुनै दुविधाहरू बाँकी रहने छैनन्। र मलाई पनि जीवनको ठूलो भारी बिसाएजस्तै गरी हलुङ्गो अनुभूति हुने छ। तिम्रो सुखद् जीवनको लागि असीम शुभ कामना!!
***
(कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ!)