ललित सामन्त
दार्चुला– दार्चुलामा गठबन्धन एकढिक्का भए नेकपा एमालेलाई साख जोगाउन कठिन हुने देखिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जिल्लाका ९ वटै स्थानीय तहमा वडा तहसम्मै गठबन्धन गरेका छन् ।
०७४ सालको स्थानीय तह निर्वाचनमा तीन स्थानीय तह जितेको एमालेको लागि यो पटक पूरानै शाख जोगाउन कठिन देखिएकोछ । गठबन्धनका कारण कतिपय स्थानमा नेता कार्यकर्ता रुष्ट देखिएका छन् । रुष्ट कार्यकर्ताको भोट तान्न सकेमात्रै एमालेलाई लाभ हुने विश्लेकहरु बताउँछन् । पहिलो स्थानीय तह निर्वाचनमा एमालेले अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका, लेकम गाउँपालिका जितेको थियो ।
माओवादी केन्द्रले मार्मा गाउँपालिका जितेको हो भने काग्रेसले महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका, र व्याँस गाउँपालिका जितेको थियो । अहिलेको मत भार हेर्दा गठबन्धन एमालेभन्दा हरेक स्थानीय तहमा एक हजार बढिको मतान्ततरमा अघि छ ।
नेकपा एमालेले ०७४ को स्थानीय तह जितेको नौगाड गाउँपालिकामा अध्यक्ष प्रेमसिह धामीले २ हजार २८९ मत ल्याएर जिजयी भएका थिए । त्यहाँ काग्रेसको १ हजार ८१६ तथा नेकपा मोवादी केन्द्रले १ हजार ५३३ मत ल्याएको थियो । नौगाड गाउँपालिकामा एमालेको भन्दा गठबन्धनको एक हजार मत बढी छ ।
यस्तै एमालेले जितेको अपिहिमाल गाउँपालिकामा धर्मानन्द मन्यालले १ हजार २४९ मत ल्याएर विजयी भएका थिए । अपिहिमालमा नेपाली काग्रेसको ९२२ मत तथा नेकपा माओवादी केन्द्रको ९ सय ८८ मत आएको थियो । दुवै पार्टीको मत १ हजार ९१० हुँदा यो पालिकामा ६ सय ६१ मतले गठबन्धन अगाडि छ । यो क्षेत्र पनि एमालेको लागि निकै चूनौती छ ।
नेकपा एमालेले ०७४ जितेको लेकम गाउँपालिकामा परमानन्द जोशीले २ हजार २३५ मत ल्याएर जितेका थिए । यो पालिकामा काग्रेसले २ हजार १३५ मत तथा माओवादी केन्द्रले १ हजार ५७ मत ल्याएको हो । अहिले दुवैको मत जोड्दा एमाले भन्दा ९५७ मत बढि गठबन्धनको हुन जान्छ । यो क्षेत्र पनि एमालेले शाख जोगाउन निकै चूनौती छ ।
यसैगरी दुहुँमा कांग्रेसका पुलेन्द्रबहादुर कार्कीले २ हजार ३०५ मत ल्याएर चुनाव जितेका थिए । दुहुँमा माओवादीको ५८४ मत छ । एमालेले यो ठाउँमा १ हजार ६९७ मत ल्याएको थियो । दुहुँमा गठबन्धन एमालेभन्दा १ हजार १९२ मतले बढी देखिन्छ ।
व्याँसमा कांग्रेसका दिलिपसिंह बुढाथोकीले १ हजार ९१५ मत ल्याएर विजयी भएको ठाउँमा अहिले गठबन्धनका तर्फबाट माओवादीको ८४३ मत जोडिएको छ ।
यो पालिकामा गठबन्धन एमाले भन्दा एक हजार ११५ मत बढी छ । तर यो स्थानीय तहका माओवादी केन्द्रको पूरानो टिम नेकपा एकता हुँदा एमालेमै समायोजन भएको छ । एमालेको लागि सबैभन्दा जटिल मार्मा गाउँपालिका छ । माओवादी केन्द्रका जमनसिंह धामीले २ हजार ३५४ मत ल्याएर विजयी भएको यो पालिकामा नेपाली कांग्रेसको १ हजार ६१७ मत आएको थियो । यहाँ एमालेले १ हजार ८९८ मत ल्याएको थियो । अहिले यो पालिकामा एमाले भन्दा गठबन्धन २ हजार बढी मतले अगाडि छ ।
मालिकार्जुन गाउँपालिकामा कांग्रेसका नरेन्द्रसिंह धामीले ३ हजार ८६ मत ल्याएर विजयी भएको स्थानीय तह हो । अहिले यहाँ माओवादी केन्द्रको ९८४ मत थप भएको छ । एमाले उम्मेदवारले यो स्थानीय तहमा २ हजार ५९२ मत ल्याएको थियो । अहिले गठबन्धन एमाले भन्दा १ हजार ४७८ मत बढी देखिन्छ ।
दुई वटा नगरपालिकामध्ये शैल्यशखिरमा नेपाली कांग्रेसका अमरसिंह धामीले ३ हजार ९२९ मत ल्याएर विजयी भएको ठाउँमा अहिले माओवादी केन्द्रको १ हजार ३६६ मत थप भएको छ । एमाले उम्मेदवारले ३ हजार ४०२ मत ल्याएको ठाउँमा अहिले गठबन्धनको मत १ हजार ८९३ मत बढि छ । सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकामा कांग्रेसका हंशराज भट्टले ४ हजार ४३ मत ल्याएर विजयी भएका थिए । यो नगरपालिकामा माओवादी केन्द्रको ३४२ मत छ । एमाले उम्मेदवारले नगरपालिकामा ३ हजार ४७६ मत ल्याएका थिए । अहिले गठबन्धन एमाले भन्दा ९ सय ९ मतले बढी देखिन्छ ।