धनगढी: नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने सम्भावना देखिएको छ। समाजवादीका संसदीय दलका नेता सोडारीले एमाले, माओवादी केन्द्र र नाउपासहितको समर्थनमा चाडै मुख्यमन्त्रीमा दाबी गर्ने बताइएको छ। कांग्रेस संसदीय दलका नेतासमेत रहेका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले अल्पमतमा परेर पदबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानकाे धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
त्यसपछि नाउपाका २ प्रदेश सभा सदस्यको मुख्यमन्त्रीमा दाबी परेकोमा आज दुबैको दाबी रद्द भएर २ दिन समय थप गरिएको छ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
तर दुई दिनपछि प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुन: २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन्।
यसैक्रममा सुदूरपश्चिममा हालको सत्ता गठबन्धनका चार दलहरुबीच समाजवादीका सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीलाई नै मुख्यमन्त्री बनाउने सहमति भएको बताइएको छ।
सोही अनुरुप यसअगाडि सुदूरपश्चिममा आगामी मुख्यमन्त्रीमा प्रस्तावित नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन समाजवादीले फिर्ता लिएको थियो।
सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपछि यसअघिको दाबीमा गरेको समर्थन फिर्ता लिइएको हो।
एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि प्रदेश प्रमुखले तत्कालीन दाबी रद्द गरेको अवस्थामा मुख्यमन्त्री नियुक्ति प्रक्रियाले नयाँ मार्ग लिएको छ। केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरुको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले मुख्यमन्त्रीमा दाबी गर्ने बताइएको छ।
दलले पनि उनैलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको बुझिएको छ।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा १ जनाको निधन भएपछि अहिले ५२ प्रदेश सभा सदस्य छन्। सरकार बनाउनका लागि २७ जनाको बहमुत आवश्यक पर्छ। समाजवादीसँग अब माओवादीका ११, एमालेका १०, आफ्ना ४, एक जना स्वतन्त्र र २ जना नागरिक उन्मुक्तिका भएपनि सरकार बनाउने सम्भावना बलियो बनेको छ।
र, यो पनि: सुदूरपश्चिमको मुख्यमन्त्रीमा परेका दाबी अस्वीकृत, थपियो २ दिन
सुदूरपश्चिममा समाजवादी गठबन्धनमै फर्कियो, लक्ष्मणलाई गरेको समर्थन फिर्ता