काठमाडौं : पोखराको सूर्यदर्शन सहकारीबाट रवि लामिछानेको नाममा लिएको एक करोड रुपैयाँ ऋणको हिसाब एक वर्षअघि मात्र मिलाएको पाइएको छ ।
जीबी राईको समूहले सञ्चालन गरेको सहकारीबाट १ अर्ब ३५ करोडभन्दा बढी हिनामिना भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, जो २०७९ असारसम्म गोर्खा मिडिया नेटवर्कको साझेदार थिए, उनको नाममा १ करोड ऋण लिएको केही समय पहिला बाहिर आएको थियो ।
पोखरा महानगरपालिका, प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोगमा विज्ञहरुले थप वित्तीय विश्लेषण गर्ने क्रममा रविको नाममा रहेको यो ऋण गत असारमा मात्र मिलाएको पाइएको छ ।
पोखराका मेयर धनराज आचार्यले बिहीबार जिल्ला प्रहरी कार्यालय, कास्कीलाई हस्तान्तरण गरेको प्रतिवेदनअनुसार २०७८ जेठ ३ र असार ९ गते मेघा बैंकको चेकबाट कबाट गोर्खा मिडियाको नाममा ५०/५० लाख रुपैयाँको एकाउन्ट पे चेक काटिएको थियो ।
पेश्की लिएको त्यो एक करोड रकम टीभीका प्रबन्ध निर्देशक तथा सञ्चालक (१५ प्रतिशत शेयर भएका) रविको नाममा ऋण लिएर मिलान गरिएको छ ।