काठमाडौं : ६० किलो सुन तस्करी प्रकरणमा थप ९ जना समातिएका छन्। दोस्रो चरणको अनुसन्धानमा सो तस्करीमा जोडिएका केही भारतीय नागरिकसहित ९ जना समातिएका हुन्।
सीआईबीका अनुसार पक्राउ परेका नौमध्ये चारजना भारतीय सुन व्यवसायी छन्।सरकारद्वारा गठित सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले दोस्रो चरणको अनुसन्धान थालेको थियो। त्यही क्रममा पक्राउ परेकाहरूमध्ये चार जान भारतीय सुन कारोबारी छन्।
सुन पसलका मालिक उनीहरूलाई काठमाडौंको न्युरोडबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा भारत गुजरातका बैजनाथ महादत्त गोयल, प्रशान्त गणेश वजवलकर, भारत महाराष्ट्रका सिद्धार्थ भन्ने सिद्धनाथ अशेक गायकवाड, सोहीका दिनेश भन्ने धिरज दिनेश वैटे छन्।
त्यस्तै सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपालीमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिकाका सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायकका राजु खत्री, काभ्रेपलाञ्चोक तेमाल गाउँपालिकाका कान्छामान लामा छन्। एक जना तिब्बती नागरिक गंगा टासीलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको छ।
गत साउन २ मा सवारी साधनको ‘ब्रेक सू’मार्फत हङकङहुँदै नेपाल भित्रिएको ६० किलो सुन भन्सार पार गरेर बाहिरिँदै गर्दा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो।
पछि उक्त घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीले पाएको हो। पहिलो चरणको अनुसन्धान सकेको सीआईबीले २९ जनालाई प्रतिवादी बनाएको थियो।
पक्राउ परेकाहरूमा ९ चिनियाँ र २० जना नेपाली थिए। उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।