धनगढी: नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षकसमेत रहेका रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दिने दललाई नै आफूहरुको समर्थन हुने बताएका छन्। रेशमलालले महेन्द्रनगरपोष्टसँग कुरा गर्दै यस्तो बताएका हुन्।
यस्तै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी आफ्नो दलका मन्त्रीलाई फिर्ता बोलाइने पनि उनको भनाई छ। आजमात्रै रञ्जिता श्रेष्ठ चौधरीलाई नाउपाका प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट हटाएका छन्। पार्टी अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका हुन्।
यस्तै उनलाई पार्टी अध्यक्षबाट समेत हटाउने आन्तरिक तयारी रहेको बताइन्छ। यसबारे प्रतिक्रिया माग्दा रञ्जिताका पतीसमेत रहेका रेशमलालले तत्काल अध्यक्ष हटाउने तयारी नभएको तर सुदूरपश्चिममा मुख्यमन्त्री नै आफूहरुको माग रहेको जनाए। उनले भने, ‘हाम्रो बटमलाइन क्लियर छ। चुनावी एजेण्डा पनि हो, हामीले सुदूरपश्चिमका हकमा जसले मुख्यमन्त्री दिन्छ, उसैलाई समर्थन गर्दछौं।’
उता, नाउपा सुदूरपश्चिमको संसदीय दलका नेता घनश्याम चौधरीले पनि आफ्ना पार्टीका दुवै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरिरहेको बताएका छन्। अहिले नाउपाबाट रञ्जिता पक्षका कैलाश चौधरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री र टीका थापा कृषि तथा भूमि सुधार मन्त्री छन्। उनीहरूलाई दलको सहमतिबगेर सरकारमा सहभागी भएको आरोप लाग्दै आएको छ।
हाल सुदूरपश्चिममा नेकपा एकिकृत समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री छन्। उनी एमालेका ११, माओवादीका १०, रञ्जिता पक्षमा २, एकिकृत समाजवादीका ४ र एकजना स्वतन्त्र सासंदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। यो संख्या २८ हुन्छ।
५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ मत आवश्यक हुन्छ। सरकारमा सहभागी नाउपाका २ मन्त्री फिर्ता भएर समर्थन नदिएमा सरकार संकटमा पर्नसक्छ।
र, यो पनि: सुदूरपश्चिममा नाउपाले आफ्ना मन्त्री फिर्ता बोलाउने
आफू नै मन्त्री बन्ने रञ्जिताको दाबी, भन्छिन्: दल नेताबाट हटाएको जानकारी छैन
नाउपाको संसदीय दलबाट रञ्जितालाई हटाइयो