धनगढी: सुदूरपश्चिमस्थित कञ्चनपुरका विवादित छविका व्यवसायी तेजबहादुर चन्दले मुद्दा मिलाइदिन भन्दै बालुवाटार चक्कर लगाउन थालेको पाइएको छ।आफूलाई नेकपा एमालेको कार्यकर्ता बताउने व्यवसायी चन्दले पूर्वमन्त्री तथा एमाले कैलालीका इन्चार्ज नारदमुनी रानामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो अख्तियारको मुद्दा मिलाईदिन बिन्ती गरिरहेको पाइएको हो।
चन्दसहित दिवाकर भट्ट पनि बालुवाटार चक्कर लगाउनेमा सामेल छन्। उनीहरूले सेटिङमा भ्रष्टाचार मुद्दा मिलाइदिन आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई प्रस्ताव गरिरहेको बताइएको छ।
स्रोतका अनुसार उनीहरूले अख्तियारलाई मिलाइदिनुपर्ने प्रधानमन्त्रीसमक्ष प्रस्ताव राखिरहेका हुन्। चन्द र भट्टसहितको कम्पनीले गत आर्थिक वर्षमा कञ्चनपुरस्थित महाकाली नदीको रोयल्टीको ठेक्का लिएका थिए। सो ठेक्कामा बदमासी भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा केही समय अगाडि मुद्दा परेको थियो।
तत्कालीन समयमा पनि यो माफिया ग्रुपको विषयमा महेन्द्रनगरपोष्टले निरन्तर समाचार प्रकाशन गरेको थियो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरमा उजुरी परेर छानबिन थालिएको थियो।
अहिले सोही मुद्दाबाट उम्किन चन्दले बालुवाटार रिझाईरहेका हुन्। चन्द उनै विवादित व्यवसायी हुन्, जसले रोयल्टीको नाममा अवैध क्रसर सञ्चालन गर्नेदेखि अनेकन सेटिङ गर्ने गर्दछन्।
यतिमात्र होइन, विगतका आर्थिक वर्षमा रोयल्टीको एकलौटी रुपमा ठेक्का हत्याउने र ठेक्कामा भ्रष्टाचार गर्नेहरुको लिष्टमा पनि उनको नाम आउँछ। तर उनी पैसा र राजनैतिक पहुँचका आधारमा उन्मुक्ति पाउने गर्दछन्।
गत आर्थिक वर्षमा महाकालीमा रोयल्टी उत्खननका लागि ठेक्का पाउने काठमाडौंको टाइगर सगरमाथा जेभीमा कञ्चनपुरका तीनै चन्दसहित नारद पाण्डे, पदम बोहरा, दिवाकर भट्टसमेत साझेदार हुन्।
उनीहरूले भ्याटसहित ७ करोड ७७ लाखमा रोयल्टी ठेक्का पाएका थिए।सो समयमा पनि यो कम्पनीले सेटिङमा ठेक्का हात पारेको आरोप लागेको थियो।
भ्रष्टाचारी हुनबाट जोगिएका तेजबहादुर
विवादित व्यवसायी चन्द, जसको विगतका वर्षमा महाकालीको रोयल्टीको ठेक्कामा भएको भ्रष्टाचारमा सहभागिता थियो। तर, उनी पावरको आडमा अख्तियारको फन्दामा पर्नबाट जोगिएका थिए।
उनी आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दका ‘खास’ मान्छे दाबी गर्दछन्।
पहिलेका २ आर्थिक वर्षमा पनि महाकालीको रोयल्टीमा भ्रष्टाचार भएको थियो। अहिले पनि ठेक्कामा व्यापक गडबड रहेको पाइएको छ। आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य वस्तुको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दाका मुख्य आरोपी रहेका चन्दले उन्मुक्ति पाउँदा महाकालीको ठेक्कामा पहिले दिवाकर भने डामिएका थिए।
सोही ग्रुपले अहिले पनि महाकाली उत्खनन गरेकोमा अख्तियारमा पर्दा मुद्दा मिलाउन शक्तिकेन्द्र धाइरहेका छन्।
गत आर्थिक वर्षमा दोधारा र भीमदत्त नगरपालिकाबीच रोयल्टी झण्डै आधा-आधा प्रतिशत वितरण गर्ने सम्झौता भएपछि भीमदत्त नगरपालिकाले ठेक्का लगाएको थियो।
सो ठेक्कामा चन्दले प्रहरी, प्रशासन र अख्तियारमा अवैध सेटिङ मिलाउने जिम्मेवारी समेत लिएका थिए।
र, यो पनि: महाकालीमा माफियाकै कब्जा, सेटिङमा ठेक्का !
महाकाली खन्न सेटिङै सेटिङ, अख्तियार मिलाउन ‘रेटिङ’ !
महाकालीमा सम्झौताविपरीत स्काभेटर चलाएर अन्धाधुन्ध उत्खनन [भिडियो]
महाकालीको ठेक्कामा पस्यो अख्तियार
भीमदत्तको भ्रष्टाचार मुद्दामा आयुक्त जयबहादुरका ‘आफन्त’ तेजबहादुरलाई उन्मुक्ति !