धनगढी : नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कलेन्द्र बिक्रम शाही अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण डीएसपी शाही अनिवार्य अवकाशमा गएका हुन् ।
उनी २९ बर्ष ५ महिना ३ दिन सेवा गरी आजबाट बिदा भएका हुन् । उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले बिदाइ गरे ।
सो अवसरमा डीआईजी केसीले संगठनमा सक्रिय सदस्यको रूपमा रहँदा अनुशासित र निष्ठावान रहि आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरि संगठनमा पुर्याएको योगदानको उच्च कदर स्वरुप डीएसपी शाहीलाई मायाको चिनोसमेत प्रदान गरे ।
साथै नागरिक जीवनमा पनि समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न वर्दी विनाको प्रहरीको रुपमा भुमिका निर्वाह गर्न उनले आग्रह गरे ।
कार्यक्रममा अवकाशमा जान लागेका डीएसपी शाहीले आफुले सशस्त्र द्वन्द देखि बिभिन्न राजनितिक परिवर्तनहरुमा राष्ट्र र संगठनले सुम्पेको जिम्मेवारी आफ्नो ज्ञान, सिप र क्षमताले भ्याएसम्म निष्ठापुर्वक सम्पन्न गरेको बताए ।
साथै प्रहरी सेवामा रहँदा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा संगठनका अग्रजहरु तथा परिवारजनबाट समेत साथ, सहयोग र शुभेच्छा प्राप्त भएको उनको भनाई छ ।