एजेन्सी: अमेरिकाको भर्जिनिया राज्यको मनासस पार्कमा बस्ने नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको एक महिना हुन लागिसकेको छ। हत्या आशङ्का गरिएपनि अहिलेसम्म उनको अवस्था अज्ञात छ।
आफ्नी श्रीमती बेपत्ता हुनु भन्दा कयौँ महिना अगाडि ममताको श्रीमान् नरेश भट्टले अफिसको कम्प्युटरबाट ‘श्रीमतीको मृत्यु भएपछि अर्को बिहे गर्न कति समय लाग्छ ?’ भनेर इन्टरनेट (गुगल)मा खोजेको खुलासा भएको छ।
अभियोजनकर्ता वकिलले अदालतमा यसबारे बताएका हुन्। प्रहरी हिरासतमा रहेका ३७ वर्षीय नरेशलाई सोमबार दोस्रो पटक अदालतमा उपस्थित गराइएको थियो।
यस क्रममा २८ वर्षीय श्रीमती ममताको बेपत्ता भएको मामिलामा नरेशको हात रहेको सन्दर्भमा अधिकारीहरूले थप प्रमाण पेस गरेका थिए। श्रीमतीको शव लुकाएको आरोप लागेका नरेशमाथि उनका साथीहरूले समेत श्रीमतीमाथि दुर्व्यवहार गर्ने गरेको आरोप लगाएका खुलासा अभियोजनकर्ताहरूले गरेका छन्। गएको हप्ता अधिकारीहरूले भट्ट दम्पतीको घरमा खोज तलास गर्दा ममतालाई मारिएको सङ्केत पाएका थिए। सोमबारको पेशीको अन्त्यमा न्यायाधीशले नरेशलाई बिना जमानत अर्को पेशीसम्म हिरासतमा राख्न आदेश दिएका थिए।
घरको मास्टर बेडरुम र बाथरुममा भेटिएको रगतको मात्राले चोट लागेको व्यक्ति बाँचेको नहुन सक्ने सङ्केत गरेको प्रिन्स विलियम काउन्टीका अभियोजनकर्ता साराह समीले अदालतमा भनेकी थिइन्।
हरेक प्रमाणले ममता अब ज्यूँदो नरहेको सङ्केत गरेकोले शव नभेटेपनि हत्या अभियोग चलाउन सकिने उनले बताइन्। भट्ट दम्पतीको घरमा भेटिएको रगत ममताकै हो भन्ने पुष्टि भइसकेको छैन। नरेशको वकिलले भने ममता हराएपछि देखिएको जनआक्रोश र शङ्काकै आधारमा उनलाई फसाइएको दाबी गरेका छन्।