धनगढी : ‘ममाथि आक्रमण हुँदा देशमा युद्धविराम थियो । गोली हान्न हुँदैनथ्यो’, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार भने । पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकमा कांग्रेस सभापति देउवालाई लक्षित गरेर गोली प्रहार गरेको घटना विस्तृत रुपमा उल्लेख छ । पुस्तक विमोचन गर्दै कांग्रेस सभापति देउवाले कैलालीको आमखैयामा आफूमाथि भएको आक्रमणको घटना स्मरण गरेका थिए ।
पुस्तकका विषयमा बोल्दै एमाले सचिव लेखराज भट्टले द्वन्द्वकालमा पूर्वप्रधानमन्त्री देउवामाथि आक्रमण गर्ने कुनै पनि योजना नभएको जिकिर गरे । ‘त्यो समयमा उपयुक्त रूपमा सही सूचना सञ्चार नहुँदा गलत सन्देश फैलिएको देखिन्छ’, उनले भने ।
तत्कालीन विद्रोही पक्ष माओवादीले उनीमाथि २०५९ भदौ ८ गते दिउँसो पूर्व पश्चिम राजमार्गअन्तर्गत कैलालीको पहलमानपुर बजार नजिकैको वन क्षेत्र आमखैयामा आक्रमण गरेको थियो । अपराह्न ४ बजे बाँकेको नेपालगञ्ज पुग्ने तयारीसाथ कैलाली सदरमुकाम धनगढीबाट हिँडेको ४५ मिनेटपछि कांग्रेस सभापति देउवा सवार गाडीमाथि माओवादी लडाकुहरूले एलएमजीबाट अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
माओवादीले चलाएको हतियारबाट छुटेको गोलीले देउवा सवार गाडीको पछाडिका दुवै टायर पन्चर भएका थिए । गाडीको बोनट, पछाडिको दायाँतिरको बत्ती र बायाँतिरको अगाडिको टायरको माथिल्लो भागमा गोली लागेको थियो ।
पत्रकार उपाध्यायले उक्त घटनबारे पुस्तकमा प्रहरी निशानामा रहेको तर, भूलवश देउवा परेको विषय उल्लेख गरेका छन् । ‘युद्धविरामको समय थियो । त्यही बेला घर आएका चार जना माओवादी कार्यकर्ताहरू मसुरियाको बढैपुरमा प्रहरीको आक्रमणमा मारिए । उक्त घटनापछि माओवादी प्रहरीसँग क्रुद्ध थियो । उसले योजना बनायो, ‘हत्याको बदला हत्या’ । प्रहरीलाई त्यसरी नै मार्ने, जसरी आफ्ना साथीहरूलाई प्रहरीले मार्यो’, उनले पुस्तकका लेखेका छन् ।
प्रहरीको बाटो ढुकेर केही दिनदेखि माओवादी जनमुक्ति सेनाको बटालियन मसुरिया, पहलवानपुर क्षेत्र आसपासमा थियो । बटालियन कमान्डर थिए, विजय केसी । उनको टीमले प्रहरीको टोली अत्तरियाबाट पूर्वतर्फ आइरहेको सूचना पायो । प्रहरीलाई आक्रमण गर्ने योजना पहिलेदेखि बनाइरहेको माओवादीले आक्रमणका लागि स्थान रोज्यो, पहलवानपुरको आमखैया जङ्गल ।
मसुरियाबाट पहलवानपुर नपुग्दै बाटोमा पर्थ्यो, आमखैया । बाटोको दुवैतर्फ डाँडा थिए । डाँडाबाट सडकमा गुडिरहेको गाडीमाथि आक्रमण गर्न सजिलो हुने माओवादीले आकलन गरे । र, दुवैतर्फको डाँडामा आक्रमणको तयारी गरेर माओवादी लडाकुहरू प्रहरीको गाडी कुरिरहे ।
‘जब साँझ पर्यो सबैतिर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि कैलालीको आमखैयामा माओवादीद्वारा आक्रमण गरिएको समाचार आयो । तब भने हामी झस्कियौं’, आक्रमणमा संलग्न कमान्डर केसीले भने, ‘हामीले प्रहरीलाई आक्रमण गर्ने योजना बनाएका थियौं, तर भूलवस पूर्वप्रधानमन्त्री देउवा चढेको गाडीमाथि आक्रमण गरेछौं ।’
‘हाम्रो इन्टेलिजेन्सले हामीलाई प्रहरी आइरहेको सूचना दिएको थियो, त्यही सूचनाका आधारमा हामी आमखैयामा आक्रमणका लागि तयारी अवस्थामा बसेका थियौं’, केसीले थपे, ‘जब प्रहरीको गाडी आयो, तब हामीले डाँडाबाट एलएमजीले आक्रमण गर्यौं । गोलीले गाडीमा क्षति पुगे पनि चालकले नियन्त्रण नगुमाई गाडी हुइँक्याएर लगे र मानवीय क्षति हुन पाएन । देउवामाथि आक्रमण नियोजित थिएन । त्यो भूलवश भएको घटना थियो ।’
त्यही कारण साँझ सुदूरपश्चिम ब्युरो इन्चार्ज पोस्टबहादुर बोगटीले भूलवस देउवामाथि आक्रमण भएको भन्दै विज्ञप्ति जारी गर्दै माफी मागे ।
पुस्तकबारे पत्रकार उपाध्यायले त्यो समयको साक्षीको रुपमा आफूले प्रस्तुत गरेको बताएका छन् । ‘यो पुस्तक पत्रकारिताको त्यो कालखण्ड भोगेको हरेकको अनुभव हो । आज पत्रकारले यो पुस्तक पढेर त्यो कालखण्डको पत्रकारको पीडा, भोगाइ, सङ्घर्ष, अनुभव, प्रताडना महसुस गर्ने मेरो विश्वास छ’, उनले पुस्तकका उल्लेख गरेका छन् ।
उनले माओवादीको विथोलिएको आमसभा,पण्डौनले व्यहोरेको युद्ध मुर्दा शान्तिमा बनबेहडालाई विस्तृत रुपमा उल्लेख गरेका छन् ।
२०६२ साल जेठ ३० गते राति बनबेहडा बजारमा डेरा गरी बस्ने सशस्त्र प्रहरीका परिवारका तीन महिला, एक नाबालक र सशस्त्र प्रहरीमा भर्ना हुन आएका तीन जनाको सुतेकै अवस्थामा क्रूरतापूर्वक हत्या गरिएको थियो । साना बालबालिकालाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको हेर्नै नसकिने विभत्स दृश्य । ओहो १ मान्छे कसरी यत्ति क्रूर निर्दयी हुनसक्छ’, उनी पुस्तकमा लेख्छन्, ‘ती अबोध बालक, जसले कसैको बिगार गरेको छैन, जसले युद्ध बुझेको छैन । तिनलाई यति क्रूरतापूर्वक हत्या गर्ने हातहरू किन कापेनन् ।’
पत्रकार उपाध्यायले आफूलाई समाचार लेखेपछि आएका धम्कीहरूका विषयमा पनि उप्काएका छन् । युद्ध त्रासदीमा अछाम युद्ध रिपोर्टिङको अनुभवमा उनले नागरिकहरूले सेना र माओवादीबाट पाएको यातनालाई उतारेका छन् ।
‘माओवादीको समर्थक हो भन्ने सुइँको पाए सेनाले मार्ने, सेनाको समर्थक वा सुराकी भएको थाहा पाए माओवादीले मार्ने, आमनागरिक दोहोरो चेपुवामा थिए’, पत्रकार उपाध्यायले लेखेका छन् ।
सैन्य क्याम्पमा बिताएका चार रात र आँखाका कैद आक्रमणमा पत्रकारको पीडालाई सविस्तार वर्णन गरेका छन् । २०६५ साल जेठ १३ गते पत्रकार लक्की चौधरीको अपहरण, त्यसपछिको पत्रकारले भोग्नु परेको त्रास र धम्की, धनगढीमा लगाइएको कर्फ्यु र पत्रकारलाई जोगाउन गोली चलाउँदा तीन जनाको मृत्यु भएको विषय पनि उल्लेख गरेका छन् ।
नेपाली पत्रकारहरूले शान्ति प्रक्रियापछि भोगेको सबैभन्दा नमीठो घटनाको रुपमा पत्रकार उपाध्यायले उक्त घटनालाई व्याख्या गरेका छन् ।
एफएम लुटिएको घटना, माओवादीले पाएको धक्का र न्याय पर्खिरहेको परिवारमा पनि माओवादी, सेना दुबैबाट पत्रकारले पाएको सास्ती विस्तृत रुपमा उतारिएको छ ।
२०६४ साल असार २१ गते कञ्चनपुरबाट बेपत्ता पारिएका पत्रकार प्रकाश ठकुरीको अवस्था अझै अज्ञात छन् । उनको परिवारले अझै न्याय पर्खिरहेको विषय र २०६२ साल साउन ५ गतेपछि अर्का पत्रकार नरेन्द्र उपाध्यायले सेनाबाट पाएको बर्बर यातना र २०६५ साल असोज २२ गते अपहरण गरेर हत्या गरिएका पत्रकार जगप्रसाद जोशीको परिवारले अझै न्याय नपाएका विषय पनि पुस्तकमा छन् ।
निर्दोष मारिएका दुई घटना उनले सेनाको बर्बरताको पराकाष्ठालाई चित्रण गरेका छन् । भिडन्त हुँदाहुँदै रिपोर्टिङ गर्दाको खतरा र सेनाले पत्रकारलाई दिएका धम्कीहरू पनि पुस्तकमा समेटिएका छन् । माओवादीले २०६१ असार २७ गते उपमहानगरपालिका नजिकै राजाबाट मनोनीत मेयर धनबहादुर बमको गोली हानेर हत्या गरिएको विषय र त्यसपछि माओवादीभित्रै बढेको अन्तरद्वन्द्व पनि पुस्तकमा उल्लेख छ ।
न्याय नपाएको परिवारका न्याय पाउने आशा, रोल्पादेखि डोटीसम्मको यात्रामा भोगेको पीडा र सास्ती, डोटीको उत्तरी भेगमा बिताएको पाँच दिन र देउवामाथिको आक्रमण पनि पुस्तकमा समेटिएका छन् ।
पत्रकारको सङ्घर्षमा पत्रकार उपाध्यायले विभिन्न समयमा विभिन्न पक्षबाट मारिएका, बेपत्ता पारिएका पत्रकारहरूको विवरण पनि पुस्तकमा समावेश गरेका छन् । उनले महासङ्घको खस्किँदो छविबारे पनि प्रश्न गर्न छुटाएका छैनन् ।
पत्रकार उपाध्यायले सार्वजनिक गरेको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकमा द्वन्द्वका विभत्स हत्या, मारमा परेका परिवार र सबै पक्षबाट पत्रकारले खेप्नुपरेको हप्कीदप्की सबैलाई तथ्यगत रुपमा तिथिमितिसहित उल्लेख गरेका छन् । यो पुस्तक एउटा पुस्तकमात्रै नभई हिजोका घटना भोलि सम्झाउने एउटा दस्तावेज पनि भएको छ ।