धनगढी: नेपाल प्रहरीका चिफ (आइजीपी) पश्चिमका प्रहरी कर्मचारीसँग रिसाएका छन्। हिजो (बुधबार) कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल प्रदेश प्रहरी कार्यालयमा आइजी वसन्त बहादुर कुँवर प्रहरीसँग रिसाएका हुन्।
गोप्य स्रोतका अनुसार आइजी सो कार्यालयको भवन उद्घाटनपछि आन्तरिक ब्रिफिङ तथा निर्देशन कार्यक्रममा प्रहरीका आचरणलाई लिएर रिसाएर चुर भएका थिए। उनले त्यस क्रममा नाम नलिएर एक एसएसपी जड्याहा भएको रिपोर्ट आफूलाई पुगेको पनि बताएका थिए।
स्रोतको भनाईअनुसार आइजीले एक एसएसपीले दारुका बोतल च्याप्दै लगेर अफिसमै कुखुरा र दारु खाने गरेको कुरा सुनाएका थिए। यस्तै ती एसएसपीले व्यापारीबाट मदिरा लिने गरेको पनि आइजीले बताएका थिए।
यस्तै फरक सन्दर्भमा आइजीले सुदूरपश्चिमका प्रहरीहरुले गुटबन्दी गर्ने गरेको बताएका थिए भने आफूले प्रहरीभित्र आन्तरिक सुद्धिकरण तथा आचरण सुद्धिकरणका लागि कुनै सम्झौता नगर्ने पनि दाबी गरेका थिए।
त्यस्तै उनले अहिले ट्राफिक प्रहरी निकै बदनामित भएको पनि जनाएका थिए। उनले ट्राफिकलाई सेतो टोपीको संज्ञा दिदै ट्राफिकबाट नागरिक बिच्किदै गएको पनि बताएका थिए।
त्यस्तै उनले सुदूरपश्चिममा प्रहरीले लागूऔषध नियन्त्रण गर्न नसकेको दुखेसो गरेका थिए।
हिजो बिहानमात्र गृहमन्त्री रमेश लेखक र आइजीले नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरकाे नवनिर्मित भवनहरुकाे उद्घाटन गरेका थिए। त्यसपछि आइजीले प्रहरीलाई आन्तरिक निर्देशन दिएका थिए।
र, यो पनि: महेन्द्रनगर हुँदै आईजी सुटुक्क भारत छिरे