धनगढी: कञ्चनपुरमा सोमबार बिहान एक दम्पती मृत भेटिए। लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला मृत भेटिएका थिए।
उनीहरू दुबै नास्ता पसल चलाउदै आएका थिए। गाउँको घरभन्दा झण्डै डेढ किलोमीटर टाढा राखेका थिए, उनीहरुले मदिरासहितको नास्ता पसल।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार गर्मी अझै नघटेकोले उनीहरू पसलकै बाहिर बरण्डामा सुत्ने गरेका थिए।
डीएसपी जोशीले रमेशको शव आँगनमा भेटिएको र उनकी श्रीमती कमलाको शव नजिकै बरण्डामा भेटिएको बताए। कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य लटपटिएको थियो।
दुवै जनाको अनुहार र टाउकोमा चोट रहेको र हत्या नै भएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले बताए।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी रविन्द्र केसीका अनुसार बडायक दम्पतीले बिहीबार बैंकबाट पैसा निकालेका थिए। `घटना शंकास्पद देखिएपछि सोही कोणअनुसार अनुसन्धान अगाडि बढाएका छौं,´ डिआइजी केसीले भने, `बैंकबाट झिकेको पैसाकै कारण घटना घटेको पनि भन्न सकिने अवस्था छैन। २ लाख ४३ हजार रुपैयाँ घरमै भेटिएको छ।´
उनले घटनाको अनुसन्धानका लागि डीएसपी उमेश जोशीको कमान्डमा प्रहरी टिली र प्रदेश प्रहरीबाट तालीमप्राप्त कुकुरसहितको टोली पनि खटाइएको जानकारी दिए।
दुवै जनाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको पनि डिआइजी केसीले जानकारी दिए। अहिले प्रहरीले घटनाको विस्तृत रुपमा अनुसन्धान थालेको छ। प्रारम्भिक रुपमा जग्गासम्बन्धि विवादका कारण घटना घटेको पनि अनुमान गरिएको छ।
र, यो पनि: कञ्चनपुरमा श्रीमानश्रीमती मृत भेटिए, हत्याको आशंका